• १ फागुन २०८१, बिहिबार

पाथीभरामा उठ्यो माघमा १० लाख बढी भेटी

blog

पाथीभरामा चढाइएको रकम सङ्कलन गरी गणना गर्दै पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी । तस्बिरः साहारा लिम्बू ।

साहारा लिम्बू

फुङलिङ, माघ ३० गते । पाथीभरा क्षेत्र विकास समितिले माघ महिनामा गणना गरिएका भेटी रकम सार्वजनिक गरेको छ । समितिले हरेक महिना गणना गरिएको भेटी प्रत्येक महिनाको मसान्तको दिन सार्वजनिक गर्ने निर्णय र प्रतिबद्धताअनुसार नै भेटी रकम सार्वजनिक गरेको हो ।

माघ महिना अवधिभरीमा १० लाख बढी भेटी गणना गरी विभिन्न बैँकमा जम्मा गरिएको विवरण सार्वजनिक गरिएको कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो । उहाँका अनुसार १० लाख ४० हजार ३ सय रुपियाँ भेटी विभिन्न मितिमा गणना गरी बैँकमा जम्मा गरिएको हो ।

३ हजार ७ सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको भेटी रकम पाथीभरा क्षेत्र विकास समितिले सङ्कलन तथा गणना गरी हरेक महिना सार्वजनिक गर्दैआएको छ । यस्तै, माघ महिनामा ४ हजार २४५ जना भक्तजनहरूले पाथीभरा देवीको दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

पाथीभरा दर्शनका लागि असोज, कात्तिक र फागुन, चैतमा विशेषगरी बढी मात्रामा तीर्थयात्री आउने गरेका छन् । विगतका केही वर्षहरूमा हरेक दिनको न्यनतम एक सय देखि ३ सय जनासम्म तीर्थयात्री आइरहने यस क्षेत्रमा हाल विरोधका कारण तीर्थयात्री सुन्यमा झरेको छ । नो केबलकार समुहले आह्वान गरेको बन्दका कारण करिब एक साताभन्दा बढी समय पाथीभरा सुनसान बनेको थियो । हाल केही छिटफुट मात्र भक्तजनहरू आउने गरेको बताइएको छ ।