तरकारी प्रत्येक भान्साको पहिलो आवश्यकता हो । बजारीकरणले समाजलाई परस्पर निर्भरताको युगतर्फ अगाडि बढाएको छ । आफैँले फलाएर आफ्नै भान्सामा पाक्ने तरकारीको आयतन घट्दो छ । विकासक्रमको यो स्वाभाविक प्रक्रियासमेत हो । बजारमा उपलब्ध हुने हरेक वस्तु तथा सेवा गुणस्तरीय र उपभोक्तामैत्री हुनै पर्छ । झन् मानव स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पर्ने तरकारी खानयोग्य भएन भने के हुन्छ ? त्यसले व्यक्तिलाई रोगी बनाउँछ । व्यक्ति र राज्यकै स्वास्थ्य उपचार खर्च बढाउँछ । मानिसको ज्यान अकालमा जान्छ । बढ्दो जनसङ्ख्यासँगै उत्पादन बढाउन अन्वेषण र उपयोग गरिएको रासायनिक मल तथा विषादीको प्रयोग वैज्ञानिक आधारमा मात्र हुनु पर्छ । सकभर जैविक र परम्परागत उत्पादन राम्रो हुन्छ । अब त्यो सम्भावना न्यून हुँदै गएको छ । नेपालमा पनि यताका केही दशकमा रासायनिक मल तथा विषादीको प्रयोग बढ्दो छ । अझ प्रयोगभन्दा दुरुपयोगसमेत बढ्दो देखिएको छ । विषादीको परीक्षण पनि समयमा हुन नसक्दा खान अयोग्य तरकारीले समेत उपभोक्ताको भान्सामा प्रवेश पाएको विडम्बना देखिएको छ ।
राजधानी उपत्यकामा तरकारी आपूर्ति गर्ने कालीमाटी तरकारी बजार प्रमुख केन्द्र नै हो । देशकै ठुलो तरकारी बजार कालीमाटीमा स्वस्थ र उपभोक्तामैत्री तरकारीको मात्र पहुँच हुनुपर्ने हो । बजार पुग्नु पहिल्यै विषादी परीक्षण हुनुपर्ने हो तर त्यस्तो हुँदो रहेनछ । बजार आइसकेपछि विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले परीक्षण गर्दो रहेछ । प्रयोगशालाले तरकारी परीक्षणको नतिजा उपभोक्ताले खाइसकेपछि मात्रै सार्वजनिक गर्ने गरेको पाइएको छ । केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको कालीमाटीको सो प्रयोगशालाले बजारमा भित्रिएकामध्ये केही तरकारीको नमुना सङ्कलन गरी परीक्षणको नतिजा दिने प्रचलन रहेछ । नतिजा निस्किँदासम्म तरकारी भने खुद्रा बजार हुँदै उपभोक्ताको भान्सामा पुगिसक्ने रहेछ । कतिपय उपभोक्ताले त्यसको उपभोग पनि गरिसक्ने रहेछन् । गत बिहीबार (माघ २४, २०८१) यस्तै भएछ । कालीमाटी फलफूल तथा तरकारी बजारमा सर्लाहीबाट भित्रिएका गोलभेँडाको नमुना परीक्षणको नतिजा आउँदा तरकारी खुद्रा बजार हुँदै उपभोक्ताको भान्सामा पुगिसकेछ । सो गोलभेँडामा विषादीको रोकावट दर ३५ प्रतिशतभन्दा बढी रहेछ र त्यसलाई खानै नहुने भनिँदो रहेछ । परीक्षणमा अर्गानोफन्टफेट नामक विषादीको अवशेष ८३.६५९ र ७२.७५३ प्रतिशत भेटियो । त्यो खान नहुनेमै पर्ने रहेछ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिसमक्ष बिहान ६ बजे मात्रै समितिले सो गोलभेँडाको परीक्षण नतिजा बुझायो । समितिका सुरक्षा गार्डसहित तरकारी स्टलमा ८ बजे पुग्दा घातक विषादी भेटिएको गोलभेँडा बिहान ४ बजेदेखि नै थोकबाट खुद्रा बजार हुँदै उपभोक्ताको भान्सामा पुगिसकेको थियो । थोरै बाँकी रहेको गोलभेँडा मात्र समितिको नेतृत्वमा नष्ट गरियो । यो त एउटा सार्वजनिक घटना मात्र हो । सबै जसो तरकारीको अवस्था धेरथोर यस्तै हुने पो हो कि ? अनि उपभोक्ताले कसरी स्वच्छ तरकारी उपभोग गर्न पाउलान् ? राति १२ बजे नै बाहिरबाट ठुलो परिमाणमा तरकारी कालीमाटी आउँछ र त्यसको थोक तथा खुद्रा व्यापार अगाडि बढ्दै बिहान ६/७ बजेसम्म उपभोक्ताको भान्सामा पुगिसक्छ । प्रयोगशालाले बजार पुग्नुअघि नै परीक्षण गर्ने पद्धति किन बसाउन नसकेको होला ? देशभरको अवस्था पनि के फरक होला र ?
रासायनिक मल तथा विषादीको प्रयोग निषेध गर्न अब सम्भव नहोला तर त्यसलाई व्यवस्थित बनाउन भने वाञ्छनीय छ । जैविक मलको प्रयोग बढाउन सक्दा त्यसले माटोको उर्वराशक्तिमा सुधार हुँदै जान्छ । रासायनिक मलको प्रयोगले भने बर्सेनि माटोको उर्वराशक्ति क्षयीकरण गर्दै लैजान्छ । बर्सेनि मलको मात्रा बढाउँदै जानु पर्छ । त्यस्तो प्रयोगले रोगकिराको प्रकोप पनि बढ्दै जान्छ । रोगकिरा प्रकोप न्यूनीकरण गर्न विषादीको प्रयोग बढाउँदै लैजानु पर्छ । त्यसले स्वयम् प्रयोगकर्ता किसानको जीवनसमेत जोखिममा हुन्छ । त्यसरी उत्पादन गरिएको तरकारीलगायतका उत्पादनले मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्छ । कृषि वैज्ञानिकको सिफारिस र सल्लाह अनुसार रासायनिक मल र विषादीको सीमित प्रयोग यसको तत्कालको विकल्प हो । कतिपय मुलुकले रासायनिक मल तथा विषादीको प्रयोगलाई न्यूनीकरण गर्दै लगेका छन् । मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव भई रोगव्याधि बढेकै कारण त्यसो गरिएको हो । प्रयोग गर्नेले पनि सन्तुलनलाई ध्यान दिएका छन् । बजार पुग्नुअघि नै गुणस्तरको परीक्षण हुन्छ । नेपाली बजारको यस्तो विडम्बना तत्कालै सुधारिनुपर्ने छ ।