काठमाडाैँ, माघ २७ गते । संसदीय समितिले आगलागी भएको खानेपानी मन्त्रालयको अनुगमन गरेको छ । आइतबार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिले आगलागी भएको खानेपानी मन्त्रालयको मन्त्री प्रदीप यादवको कार्यकक्षको अनुगमन गरेको हो ।
अनुगमन, निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै समिति सभापति दीपकबहादुर सिंहले आगलागीको बारेमा निरीक्षण गर्न समितिका सबै सदस्यहरू आएको र आगलागीले धनको क्षति भएको बताउनुभयो । उहाँले यस घटनाले सिंहदरबारभित्रका कार्यालयहरूको वायरिङदेखि सबै कुरामा जाँच गर्नुपर्ने र यस्ता घटना हुन नदिन पूर्वतयारीका काम गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, "हामी आगलागी भएको निरीक्षण गर्न आएका हौँ । पूर्वाधार विकास समितिका सम्पूर्ण मान्यज्युहरू टिम नै आउनुभएको छ । यो घटनाले जनको क्षति भएन, धनको क्षति भएको छ । डकुमेन्टहरूमा केही पनि आगो लागेको छैन भनिएको छ । यो घटनाले सिंहदरबारभित्रका कार्यालयहरूको वायरिङदेखि लिएर पहिलादेखि नै हाइ अलर्टमा बस्नुपर्ने महसुस समितिले गरेको छ । अब वायरिङदेखि सबैलाई परीक्षण गर्न जरुरी रहेको आवश्यक देखेका छौँ ।"
उहाँले आगामी दिनमा पूर्वतयारीका साथ काम गर्न महसुस देखिएको उल्लेख गर्नुभयो ।