• १ असार २०८२, आइतबार

‘अमर नेम्बाङ स्मृति सम्मान’ बाट धरावासी र स्मृति पुरस्कृत

blog

सम्मान तथा पुरस्कार ग्रहण गरेपछि कविद्वय कृष्ण धरावासी र स्वप्निल स्मृति। तस्बिरः राधा लुइटेल

राधा लुइटेल 

फिदिम, माघ २६ गते। यस वर्षको अमर नेम्बाङ लिम्बू स्मृति साहित्य सम्मान तथा पुरस्कार कविद्वय कृष्ण धरावासी  र स्वप्निल स्मृतिलाई प्रदान गरिएको छ। अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानले स्वर्गीय अमर नेम्बाङको छैटौं स्मृति दिवसको अवसर पारेर शनिबार उहाँहरुलाई नगद ५० हजार रुपियाँसहितको सम्मान अर्पण गरेको हो।

कवि धरावासी र स्वप्निललाई कार्यक्रमका प्रमुख अतिथि संंविधान सभा सदस्य तथा कांग्रेसका सह महामन्त्री भिष्मराज आङदेम्बेले नगद पुरस्कारसहित कदर पत्र प्रदान गर्नुभयो। 

प्रतिष्ठानले सोही कार्यक्रममा गत भदौ १३ गते पाँचथरको प्राङवुङमा भएको बम विष्फोटमा ज्यान गुमाएका प्रिन्सा र दिप्सन साँवाकी आमा पुजा सावाँलाई २० हजार, जिल्लामा सक्रिय सामाजिक संस्था हाम्रो सहारा पाँचथरलाई नगद ५० हजार र असोज महिनामा जिल्लाको फिदिम, फालेलुङ र फाल्गुनन्द गाउँपालिकामा गएको बाढी पहिरोमा ज्यान गुमाएका प्रभावित १५ परिवारलाई जनही १० हजारका दरले राहत उपलब्ध गराएको छ।

लेखक, कवि तथा फाल्गुनन्द गाउँपालिकाका तत्कालीन अध्यक्ष अमर नेम्वाङको २०७६ माघ २६ गते निधन भएको थियो। त्यसपछि उहाँको परिवारका सदस्यले गठन गरेको अमर नेम्वाङ स्मृति प्रतिष्ठानले प्रत्येक वर्षको माघ २६ गते सम्मान, पुरस्कार र छात्रवृत्तिसहित राहत वितरण गर्दै आएको छ।

उक्त पुरस्कार यसअघि श्रवण मुकारुङ, प्रेम ओझा, शारदा सुब्बा, बिना थिङ, डा.गोविन्दराज भट्टराई, वीर नेम्बाङ, देवी क्षेत्री दुलाल, मुनाराज शेर्मा, विमला तुम्खेवा र गिरीराज बाँस्कोटालाई प्रदान गरिसकिएको प्रतिष्ठानका अध्यक्ष मुनिन्द्र नेम्वाङले जानकारी दिनुभयो।