• २६ माघ २०८१, शनिबार

नेसपा (नयाँ शक्ति) को महाधिवेशन माघ २७ देखि

blog

पार्टीका नेत्री हिसिला यमी नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम राष्ट्रिय महाधिवेशनबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, माघ २६ गते । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम राष्ट्रिय महाधिवेशनमा प्रवासमा रहने सदस्यहरूका लागि अनलाइन मतदानको व्यवस्था गरिने भएको छ ।

शनिबार काठमाडौंमा प्रथम राष्ट्रिय महाधिवेशनका सम्बन्धमा आयोजित पत्रकार सम्मेलनका क्रममा पार्टीका नेत्री हिसिला यमीले यस्तो जानकारी दिनुभएको हो ।

उहाँले भारतमा रहने प्रवासी सदस्यहरूलाई अनलाइनबाट मतदान गर्न पाउने व्यवस्था गरिएको बतउनुभयो । उहाँले पार्टीले समावेशीताको मर्मअनुसार पदाधिकारी चयन गर्ने जानकारी दिनुभयो ।

अध्यक्ष, महासचिव र कोषाध्यक्ष खुला प्रतिस्पर्धाको आधारमा छनोट हुने र उपाध्यक्ष समूहगत प्रतिस्पर्धाको आधारमा चयन हुने बताउनुभयो । त्यस्तै सचिवमा महिलालाई प्राथमिकता दिएर जाने र बाँकीलाई फ्रि इलेक्सनको माध्यमबाट चयन गर्ने बताउनुभयो ।

‘‘हामी एउटा नयाँ एक्सपेरिमेन्ट गर्दैछौँ । समावेशीलाई साँच्चै त्यसको मर्मलाई समेटेका छौँ । हाम्रो पदाधिकारीमै समावेशीअन्तर्गत अध्यक्ष, महासचिव र कोषाध्यक्ष खुला प्रतिस्पर्धाको आधारमा व्यक्तिगत प्रतिस्पर्धाको आधारमा छ भने उपाध्यक्ष ग्रुप प्रतिस्पर्धाको माध्यमबाट आउने, सचिवमा महिलालाई प्राथमिकता दिएर जाने र बाँकीलाई फ्रि इलेक्नसको माध्यमबाट गर्दैछौँ ।,’’ नेत्री यमीलले भन्नुभयो, ‘‘सिसिएमहरूलाई पनि उठ्नका लागि हामीले क्लस्टरको आधारमा सरकारले फलो गरेको प्रतिशतको आधारमा हामीले गरेका छौँ । यो हाम्रो लागि पनि चुनौती हो । यो राजनीतिक उडानका लागि पनि चुनौती हो ।’’

पार्टीका नेता कृष्ण शर्माले राजनीतिक समस्या मात्र नभई समाधान पनि भएको बताउनुभयो । उहाँले अहिले पुराना राजनीतिक दलहरूले समस्या मात्रै उजागर गर्ने गरेको, जनताको भावनालाई समातेर सत्तामा जाने र सत्ताको दोहन गर्ने काम गरिरहेको आरोप लगाउनुभयो ।

नयाँ शक्ति भनेको समाधान भएकाले समाधानसहितको दिशामा अघि बढाउने बताउनुभयो । पार्टीले स्थानीय निकायलाई मुख्य आधार मानेको बताउँदै ७५३ मध्ये ५१२ स्थानीय निकायबाट प्रतिनिधित्व भएको जानकारी दिनुभयो । ३१ हजार पार्टी सदस्यहरू, त्यहाँबाट निर्वाचित भएका एक हजार ५ सय प्रतिनिधिहरू काठमाडौं आइसकेको जानकारी दिनुभयो ।

पुराना शक्तिहरूलाई पार्टीको महाधिवेशनमा नबोलाइएको बताउनुभयो । उहाँले पार्टीका नेताहरू आफैँ आत्मनिर्भर हुने, स्वायत्त र स्वचालित ढङ्गका पार्टीका नियकाहरु हुने उल्लेख गर्नुभयो । शक्ति पृथकीकरणको सिद्धान्तलाई पार्टीभित्र अपनाउने बताउनुभयो । 

पार्टीको महाधिवेशन नेपालको राजनीतिक प्रणालीलाई पुनःसंरचना गर्ने र नेपालको राष्ट्रिय राजनीतिक नयाँ दिशामा मार्ग प्रशस्त गर्ने वैकल्पिक राजनीतिक धार भएको बताउनुभयो । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम राष्ट्रिय महाधिवेशन माघ २७ गतेदेखि सुरु हुँदैछ ।