• २६ माघ २०८१, शनिबार

गोरखाका किसान व्यावसायिक कफि खेतीतर्फ आकर्षित

blog

गुणबहादुर रोका
सुलीकोट, माघ २६ गते ।
गोरखाको चार वटा पालिकाका किसानहरू व्यावसायिक कफि खेतीतर्फ आकर्षित भएका छन् । जिल्लाको बारपाका सुलीकोट गाउँपालिका, गण्डकी गाउँपालिका, पालुङटार नगरपालिका र शहीद लखन गाउँपालिकाका किसानहरू व्यावसायिक रूपमा कफि खेतीतर्फ आकर्षित भएका हुन् ।

अहिले गण्डकी गाउँपालिका र शहीद लखन गाउँपालिकाका किसानले ६४ हजारभन्दा बढी कफिको बिरुवा लगाएका छन् भने बारपाक सुलीकोट र पालुङटार नगरपालिकाका किसानले ३० हजार बढी कफिका बिरुवा लगाएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ ।

शहीद लखन गाउँपालिका र गण्डकी गाउँपालिकाका किसानहरूले ४५ वटा कृषक समुहलाई समटेर कुल ६ सय ४८ रोपनी क्षेत्रफलमा कफी लगाइएको बताइएको छ । जाइकाको आर्थिक सहयोग र आम्दा माइन्ड्सको प्राविधिक सहयोगमा माया प्रेम स्मृति प्रतिष्ठानले चार वटै पालिकाका किसानहरूलाई आवश्यक सहयोग र सहजीकरण गर्दै आएको छ ।

माया प्रेम स्मृति प्रतिष्ठानले किसानलाई ७० प्रतिशत कफिको बिरुवा अनुदान दिनुका साथै ठाउँ छनोटदेखि माटो परीक्षणसँगै प्राविधिक पाटो पनि संस्थाले सहयोग गर्दै आएको परियोजनाका प्राविधिक सुपरभाइजर नविन धितालले जानकारी दिनुभयो ।

उहाँका अनुसार किसानलाई मेसिन, काँटछाँट गर्ने औजार र सिँचाइका लागि प्लास्टिक पोखरी र कफिको रातो दाना छुट्याउने डायर मेसिन पनि सहयोग गरेको उहाँले बताउनुभयो ।

संस्थाको सहयोगपछि दिन प्रति दिन व्यावसायिक रूपमा कफि खेती गर्ने किसानको सङ्ख्या बढिरहेको प्राविधिक सुपररभाइजर धितालको भनाइ छ । कफि रोपेका दुई वर्षपछि उत्पादन दिन थाल्ने भएकाले पनि एउटै बोटमा एक वर्ष भित्रमा सात किलो कफि उत्पादन हुने बताइएको छ ।

जिल्लामा व्यावसायिक कफी खेती सुरु गरिएको छ । पालिका भित्रका कफी खेती गर्न रुचाउने किसानहरूलाई कृषक समूह बनाई कफी खेती सुरु गरेका कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ ।

पालिकाले उत्पादनका आधारमा कृषकलाई आर्थिक अनुदान दिने गाउँपालिकाको निति अनुसार नै किसानहरू कफि खेतीमा सक्रियता बढाएका हुन् । 

जिल्लामा झण्डै एक लाख बिरुवाबाट कफी उत्पादन भयो भने कफी कृषकलाई राम्रो आम्दानीको स्रोत बन्ने शहीदलखन गाउँपालिकाका बक्राङका किसान कटक अर्यालको विश्वास छ ।