वसन्त पराजुली
नारायणगढ, माघ २६ गते। प्रेस चौतारी चितवनले स्थापना गरेको डा. तिलचन्द्र शारदा भट्टराई पत्रकारिता पुरस्कारबाट गोरखापत्रकर्मी शालिग्राम नेपाल सम्मानित हुनुभएको छ।
प्रेस चौतारी नेपाल चितवनको ८ औं जिल्ला अधिवेशनका अवसरमा गोरखापत्रका बागमती प्रदेश संयोजक नेपाललाई सो सम्मान गरिएको हो।
कार्यक्रममा पुरस्कारका दाता डा. तिलचन्द्र भट्टराई र प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश वस्नेतले नेपाललाई सम्मान गर्नुभएको हो। पुरस्कार २० हजार रुपियाँ राशि, प्रमाणपत्र र दोसल्ला रहेको छ।
त्यसैगरी ११ हजार १११ रुपियाँ राशिको स्वर्गीय द्वारिका नेपाल स्मृति पुरस्कारबाट पुरस्कृत सन्तकुमार चौधरी र जनही १० हजार रुपियाँ राशिको जोखिम पत्रकारिता पुरस्कारबाट पुरस्कृत निरुता विक र बद्री अर्याललाई कार्यक्रममा सम्मान गरिएको छ।
पुरस्कार स्वरुप प्राप्त रकम पत्रकार नेपालले स्वर्गीय द्वारिका नेपाल स्मृति पुरस्कारको कोषलाई र चौधरीले प्राप्त गर्नु भएको रकम प्रेस चौतारी चितवन शाखाको भवन निर्माणलाई सहयोग गर्नुभएको छ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रेस चौतारीका अध्यक्ष बस्नेतले प्रेस स्वतन्त्रताका पक्षमा लाग्न सबैलाई अनुरोध गर्नुभएको छ।