नवीनराज कुइँकेल
लमजुङ, माघ २६ गते । लमजुङको बेसीसहर नगरपालिकाले सडक ढलान तथा कालोपत्रेको गुणस्तर नाप्न कोर कटिङ मेसिन प्रयोग गर्न सुरु गरेको छ ।
विकास निर्माणमा हुने कच्चा पदार्थको मात्रा पत्ता लगाएर यसको गुणस्तर नाप्न नगरपालिकाले निर्माण सकिएका सडकको ढलान, कालोपत्र तथा नालीमा कोर कटिङ मेसिन प्रयोग गर्न थालेको हो । ढलान तथा कालोपत्र गरिएका सडक स्टिमेट अनुसार भए÷नभएको र गुणस्तर मापन गर्न कोर कटिङ परीक्षण सुरु गरिएको बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले बताउनुभयो ।
“निर्माण सम्पन्न भएका आयोजनाको भुक्तानी दिनुअघि स्टिमेट अनुसार काम भए÷नभएको जाँच्न कोर कटिङ मेसिन प्रयोग गरेर जाँच्ने गरेका छौं”, बेसीसहर नगरपालिकाका प्रमुख अर्यालले भन्नुभयो, “यसो गर्दा निर्माण कम्पनी, व्यावसायी र उपभोक्ता समितिले कच्चा पदार्थ प्रयोगमा तलमाथि गर्न पाउँदैनन ।”
बेंसीसहर नगरपालिका–३ गाउँसहर, वडा नं. ८ बेसीसहर र वडा नं. १० बाझाखेत लगायत वडामा निर्माण सकिएको सडकको कोर कटिङ मेसिनबाट परीक्षण कार्य गरिएको नगरपालिका उपप्रमुख पदमा गुरुङले जानकारी दिनुभयो । “अनुगनको क्रममा इन्जिनियरहरूको साथमा मेसिनको प्रयोग गरेर गुणस्तर नाप्ने गरेका छौं । गुणस्तरीय काम नभए पुन गुणस्तर कायम गर्न सुझाव दिएका छौं”, उहाँले भन्नुभयो ।
करिब साढे तीन लाख रुपियाँ खर्च गरेर कोर कटिङ मेसिन ल्याएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ अर्यालले बताउनुभयो । उहाँले कोर कटिङ मेसिन प्रयोगपछि सडक निर्माणका कार्यमा गुणस्तरीय काम हुने विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाका इन्जिनियर प्रकाश पौडेलका अनुसार ढलान तथा कालोपत्र सडकको विटुमिनको मात्रा तथा गुणस्तर, कालोपत्रको मोटाइ, खँदिलोपना, निर्माण सामग्रीको मिश्रण कोर कटिङ मेसिनबाट परीक्षण गर्न सकिन्छ ।
मेसिनमा ४ इन्चको गोलो सिलिन्डर फिट भएको हुन्छ । जेनेरेटरले पावर दिएपछि सिलिन्डर ढलान वा कालोपत्र भित्र छिर्छ । तलसम्म पुगेर त्यसले निकालेको नमुनालाई विभिन्न तवरले नापेर, हेरेर गुणस्तर पत्ता लगाइन्छ । पूर्वाधार विकास कार्यालय लमजुङले नगरपालिकाका प्राविधिकहरूलाई फिल्डमै गएर परीक्षण विधिबारे सिकाएको छ ।