गुणबहादुर रोका
सुलीकोट, माघ २६ गते । गोरखा सदरमुकामबाट पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र अजिरकोट गाउँपालिका पुग्न सबै भन्दा छोटो दूरीमा रहेको गोरखा क्याम्पास–मान्द्रेढुङ्गा–छेपेटार सडकअन्तर्गत गोरखा क्याम्पासदेखि मान्द्रेढुङ्गासम्म झण्डै एक किलोमिरटरको दूरीमा पर्ने सडक कालोपत्रे भएको छ ।
निकै लामो प्रयास पछि गोरखा सदरमुकामबाट एक किलोमिटर सडक बाटो कालो पत्रे सम्पन्न भएको गोरखा सडक आयोजना कार्यालय गोरखाका साइड इन्जिनियर शिव सुवेदीले जानकारी दिनुभयो ।
विशेष गरी गोरखा नगरपालिकाका प्रमुखसहित जनप्रतिनिधीको लामो समयको प्रयासपछि अहिले आएर यस सडक कालोपत्रे सुरु गरिएको गोरखा नगरपालिका – ७ का वडाध्यक्ष विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो । सडक विभागको बजेटअन्तर्गत सडक आयोजना कार्यालय गोरखामार्फत कालोपत्रे सम्पन्न भएको हो ।
गोरखा सडक योजना गोरखाको एक करोड रुपियाँमा गोरखा सडक गोरखा योजना कार्यालय गोरखा र निर्माण कम्पनीबिच झण्डै एक किलो मिटर सडक कालो पत्रे र एक साइडमा नाली बनाउनुपर्ने सम्झौता उल्लेख भए अनुसार ५.५ मिटर चौडाइ र एक किलोमिटर लम्बाइ, सवबेस, सवग्रेड फाइनल भई सम्पन्न भएको गोरखा सडक आयोजना कार्यालय गोरखाले जनाएको छ ।