अमरराज नहर्की
तनहुँ, माघ २६ गते । पर्यटकीय नगरी बन्दीपुर बजार नजिककै पश्चिम क्षेत्रमा रहेको मुकुन्देश्वरी गढीलाई पर्यटकीय गन्तव्य बनाउने पहल थालिएको छ । सेनवंशी राजाहरूको इतिहास तथा धार्मिक महत्त्व बोकेको बन्दीपुर गाउँपालिका–२ मुच्चुकस्थित यस गढीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न बन्दीपुर गाउँपालिका तथा स्थानीयवासी जुटेका हुन् । यस अघिलाई पर्यटकीय गन्तव्य बनाउन मुकुन्देश्वरी मन्दिरको पुनर्निर्माण सुरु गरिएको छ भने अधुरो सिँढी मार्गलाई पूरा गर्न लागिएको छ ।
नेपाल एकीकरण हुनुभन्दा पहिले तत्कालीन सेन राजाको पालामा निर्माण भएको भए पनि हाल ओझेलमा परेकोले त्यसको विकासका लागि स्थानीय बासिन्दाहरू जुटेको र त्यसको स्थानीय तथा प्रदेश सरकार साथ मिलेको मुकुन्देश्वरी मन्दिर तथा दरबार निर्माण तथा संरक्षण समिति अध्यक्ष शुकुमलाल गुरुङले जानकारी दिनुभयो ।
अध्यक्ष गुरुङका अनुसार मुकुन्देश्वरी गढीलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न बन्दीपुर गाउँपालिकाले यस क्षेत्रको संरक्षण, पुनर्निर्माण र प्रवर्द्धन गर्न लागेको हो । नयाँ मन्दिर निर्माणका लागि शनिबार शिलान्यास गरिएको छ । मन्दिरको गण्डकी प्रदेशका सभासदस्यद्वय जीतप्रकाश आले र अशोककुमार श्रेष्ठले शिलान्यास गर्नुभयो ।
ऐतिहासिक स्थलको संरक्षणका लागि प्रदेश सरकारले १० लाख विनियोजन गरेको बताउँदै गण्डकी प्रदेश सरकारको पूर्वमन्त्री समेत रहनुभएको आलेले थप रकमका लागि पहल गर्ने बताउनुभयो । बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले चालु आर्थिक वर्षमा नै मुकुन्देश्वरी गढी पुग्नका लागि अधुरो सिँढी निर्माण र अन्य पूर्वाधार निर्माणका लागि सहयोग गरिरहेको बताउनुभयो । कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष पञ्चमाया गुरुङ, वडाध्यक्षहरू तिलकबहादुर कुँवर र परमेश्वर भट्टराइले मुकुन्देश्वरी मन्दिरको व्यवस्थापनका लागि पालिका तथा वडाबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
यहाँ मुकुन्देश्वरी मन्दिरसहित पाल्पाली राजा मणि मुकुन्दसेनको भग्नावशेष दरबार, तत्कालीन सैनिक टुँडिखेल ३०/३५ जना बस्न मिल्ने गुफा, पानी सङ्कलनका लागि ८÷१० फिटभन्दा गहिरो इनार, घोडा बाँध्ने तबेलाहरू रहेका छन् । गाउँपालिकाले मुुकुन्देश्वरी डाँडाको प्रचारप्रसारका लागि पदमार्ग पर्खाल निर्माणको कामलाई समेत तीव्रता दिएको छ । चीनमा रहेको विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी पदमार्ग पर्खाल निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ ।
बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट निर्माण सुरु गरिएको पदमार्ग पर्खाल मुकुन्देश्वरी डाँडामा पुगेर टुङ्गिनेछ । यस्तै बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा यस क्षेत्रको प्रचारप्रसार गरी धेरैभन्दा धेरै पर्यटक बन्दीपुर भित्र्याउने योजना पनि गाउँपालिकाको छ । महाभारत शृङ्खलाअन्तर्गत पर्ने मुकुन्देश्वरी समुन्द्री सतहबाट १३४३ मिटरको उचाइमा रहेको छ । यहाँबाट धौलागिरिदेखि माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, हिमचुली गणेश लाङटाङसम्मका दर्जनौँ हिमशृङ्खलाहरू लगायत तनहुँ, लमजुङ, गोर्खा, चितवन र नवलपुरका स्थानहरू आँखै अगाडि देख्न सकिन्छ । बन्दीपुरबाट भन्ज्याङ चौतारा हुँदै मुच्चोकसम्म सवारी साधनमा पुगी त्यहाँबाट ४५ मिनेटको उकालो पैदल सिँढी चढ्दै मुकुन्देश्वरी डाँडा पुग्न सकिन्छ ।