• २६ माघ २०८१, शनिबार

श्रीस्वस्थानी स्वस्थानको वृत्तान्त

blog

नेपाल संवत् ६९३ तदनुसार विसं १६३० मा पाइएको स्वस्थानीव्रतकथा हालसम्म पाइएको सबैभन्दा पुरानो स्वस्थानी हो । यो ताडपत्रमा छ । जयन्तदेव नामक व्यक्तिले संस्कृतपद्यबाट नेवारी लिपिमा सारेको यो ताडपत्रमा स्वस्थानी महादेवीको मूल कथा मात्र छ ।

स्वस्थानी कथामा वर्णन गरिएको लावण्य देश कहाँ पर्छ ? काठमाडौँको पूर्वतर्फको शङ्खरापुर (साँखु) र आसपासको भूभाग अनुमान गरिएको छ । स्वस्थानीमा सतीदेवीको अङ्ग पतन भएका स्थानमा शक्ति (देव) पीठहरू उत्पन्न भएका र तीमध्ये अधिकांश नेपालमा पर्छन् । त्यसैले पनि स्वस्थानी कथालाई ‘स्वस्थानी’ अर्थात् ‘स्वस्थानीय’ कथा भनिएको अनुमान गर्न सकिन्छ ।

परापूर्वकालमा शिवपुत्र कुमार (देव सेनापति) देवताका शत्रु वध गर्दै पूर्वबाट पश्चिमतर्फ बढिरहेका थिए । जाँदाजाँदै उनले दक्षिणतिर शत्रुहरूले देवताका अनुयायी ऋषिमुनि र साधुहरूको हत्या गरेर तिनका खप्परहरूको चाङ लगाइदिएका, त्यो चाङ कुनै पर्वत (पहाड) भन्दा ठुलो छ भन्ने खबर सुनेपछि कुमार कार्तिकेय दक्षिणतर्फ बढे । दक्षिणी भूभागमा देवशत्रु दमन गरिसकेपछि कुमारको हाल भारतमा पर्ने प्रसिद्ध हिन्दु तीर्थ रामेश्वरआसपासको भूभागमा ऋषि अगस्त्यसँग भेट हुन्छ । ऋषि अगस्त्यले स्कन्दकुमारलाई न्यानो आतिथ्य प्रदान गरेर प्राणी र मानव सृष्टि, देव–असुर सम्बन्ध र देवताहरूको लीला सम्बन्धमा एकपछि अर्को  जिज्ञासा राख्छन् । ऋषि अगस्त्यको जिज्ञासा एक एक गरी समाधान गरिसकेपछि स्कन्दकुमार अगस्त्यमुनिसँग बिदा भएर दक्षिणपश्चिमतर्फ अघि बढ्दै हाल इरान, इराक र आर्मेनियाको बिच भागतिर पर्ने एक पर्वतमा आश्रय लिन्छन् । सो पर्वत हाल कार्तिकेय पर्वत (माउन्ट कार्डुक) कहलाउँछ । स्वस्थानीको मूल कथा तिनै स्कन्दकुमार र मुनि अगस्त्यबिचको संवाद हो । शिवपुत्र कुमारले अगस्त्यमुनिको जिज्ञासामा वेद र पुराणमा वर्णित सन्दर्भहरूमा केन्द्रित रहेर स्पष्ट पारिएको शिव (शङ्कर), ब्रह्मा, विष्णु, शिवपत्नी सतीदेवी तथा पार्वती र समस्त इन्द्रादी देवतासमेतको बृहत् कथ्य नै ‘स्वस्थानीव्रतकथा’ हो । स्वस्थानीकथामा निहित तथ्य र वर्णनलाई नियाल्दा यसको स्रोत कुनै एउटा मात्र स्रोत ग्रन्थलाई मात्र आधार मान्न सकिन्न । बरु यो एकभन्दा धेरै ग्रन्थबाट सङ्कलन गरिएको अर्थात् समय समयमा, बिचबिचमा थपथाप पारिँदै आएको प्रतीत हुन्छ । नेपाली र नेवारी दुई फरक भाषामा प्राप्त स्वस्थानीकथाको परम्परालाई अनुप्राणीत गर्ने मुख्य स्रोत पुराण साहित्य हो भन्नेमा प्रायः अध्येता एकमत छन् ।    

प्राचीनता र प्रथम प्रकाशन

स्वस्थानीकथा श्रवण गर्ने प्रचलनको सुरुवात नेपाली समाजमा कहिलेबाट भयो ? यसको पहिलो ग्रन्थ कहिले कहाँबाट कोमार्फत प्रकाशन भयो ? यसबारे अनुसन्धान हुन बाँकी छ । यसर्थ स्वस्थानीकथाका प्रथम लेखक वा सर्जक को हुन् भन्ने विषय पनि गर्भमै छ । नेपाली भाषामा स्वस्थानीको प्रकाशन कहिले भयो ? यसबारेमा धेरै लेखकले कलम चलाएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति ईश्वर बरालबाट सम्पादित ‘झ् या ल बा ट’ (२०३९, पृ. १२, पाद टिप्पणी नं. ६) मा बरालले ‘१६५८ मा नेपालीमा लेखिएको स्वस्थानीव्रतकथा को यो लेखौट काठमाडौँको केशरपुस्तकालयमा छ’ उल्लेख गरेका छन् । तर केशर पुस्तकालयमा सो ग्रन्थ हाल उपलब्ध छैन । केशर पुस्तकालयमा १८७८ सालमा लेखिएको ‘स्वस्थानी व्रत कथाहा’ मात्र उपलब्ध छ । नेपाली साहित्य र विशेष गरी नेपाली गद्याख्यानका बारेमा कलम चलाउनेहरूले यसबारे बेला बेलामा चर्चा गर्दै आएका पाइन्छ । बरालले ‘झ् या ल बा ट’ कृति, पृ. ८६ मा स्वस्थानीव्रतकथा पहिलो पटक विसं १९४०–४४ भित्र प्रकाशन भएको हुन सक्ने र यो ग्रन्थका प्रथम सर्जक (शोधक) डमरुवल्लभ ? लाई अनुमान गरेका छन् ।  

अध्येता यज्ञराज सत्यालले ‘नेपाली साहित्यको भूमिका (२०२९, पृ. ८४) मा नेपाली भाषामा ‘स्वस्थानी व्रत–कथा’ १९४८ मा प्रकाशन भएको किटानसाथ उल्लेख गरेका छन् । मोहनराज शर्माले ‘कथाको विकास प्रक्रिया, पृ.११६’ मा स्वस्थानीको प्रकाशन विसं १९४६ तिर हुन सक्ने उल्लेख गरेका छन् । डा. वासुदेव त्रिपाठीले ‘विचरण, पृ.८४’ मा स्वस्थानीको प्रकाशन पहिलो पटक विसं १९४४ मा भएको भनी लेखेका छन् । उपर्युक्त अन्योल र अनुमानका बिच अध्येता शरदचन्द्र शर्मा भट्टराईले ‘प्राचीन गद्याख्यान’ (२०४२, पृ.३६) मा राष्ट्रिय अभिलेखालयमा सङ्गृहीत सूक्ष्मछविचित्र (माइक्रोफिल्म) लाई उद्धृत गर्दै वनारस, काशीको त्रज (जय ?) चन्द यन्त्रालयमा लिथोग्राफ पद्धतिबाट छापिएको विसं १९४२ को स्वस्थानी नै हालसम्म पाइएको प्रथम प्रकाशित स्वस्थानी कथा (नेपाली भाषामा) को पुस्तक हो भनी किटान गरेका छन् । २४.८+१५.१ सेमी आकारको उक्त स्वस्थानी पुस्तकमा कुल सय पृष्ठ र २२ अध्याय छन् । अन्तिमका दुई पृष्ठमा रावणले रचना गरेको भनिएको ‘शिव ताण्डव स्तोत्र’ (संस्कृत भाषामा) दिइएको छ । लेखक भट्टराईको उपर्युक्त दाबी सत्य भएमा नेपाली भाषामा हालसम्म प्राप्त श्रीस्वस्थानीव्रतकथा विसं १९४२ मा प्रकाशित भएको सो ग्रन्थ नै पहिलो हो भन्ने स्पष्ट हुन आउंछ । नेपाली भाषाको त्यस पहिलो स्वस्थानीव्रतकथा सम्भवतः संस्कृत संस्करणबाट डमरुवल्लभ पोखरेलले पहिलो पटक नेपाली भाषामा अनुवाद गरेर प्रकाशनयोग्य बनाएका थिए । लेखक भट्टराईका अनुसार उक्त पहिलो स्वस्थानी पुस्तक मुद्रित गराएर नेपाली समाजमा सुलभ गराउने व्यक्ति देवराज लामिछाने पण्डित हुन् । लेखक कमल दीक्षितका अनुसार उनी जीवराजका कान्छा छोरा हुन् । यिनी भगवती प्रेसका मालिक थिए । देवराज केही पुस्तकका रचनाकार पनि हुन् । श्लोक पञ्चाशिका काव्य, विसं १९४४ उनलाई रचनाकारका रूपमा चिनाउने कृति हो । यिनले विसं १९४२ मा प्रकाशन भएका ‘भानुभक्तको भाषा रामायण’ र ‘श्रीस्वस्थानी परमेश्वरीको कथाहा’ समेत दुई कृति सम्पादन गरेको लेखक भट्टराईले उल्लेख गरेका छन् । 

‘नाना पुराणादि ग्रन्थहरूबाट संग्रह गरी मूर्खले पनि चाँणो परमेश्वरीमा भक्ति लाउन् ब्रत गरुन् भन्ना निमित्त मुनिहरूले भाषा सहज बुझिने बनाइदियाको अति चाँणो फल दिने सिद्धिदायक श्री स्वस्थानी परमेश्वरीको कथाहा नपाइँनाले महासयहरूलाई बडो कठिनले काम चलाउनु पथ्र्याे सो तकलिफदेखि लोकहितार्थ श्री देवराज पण्डितले ५।६ वटा पुस्तकको पाठ मिलाइ बडा मिहिनेतले सोधि श्री स्वस्थानीको पुजन यंत्र विधि समेतको कथाहा छपायेका छन् जऊन् महासयलाई लिनाको इच्छा छ तल लेषियाका ठाउँमा किनून् पुस्तक पाइने ठाउँ काशीमा रामघाट, नेपालमा इन्द्रचोक हरिहरपण्डित काहाँ’ (प्राचीन गद्याख्यान, पृ.४०) । पं. देवराज लिखित उक्त स्वस्थानी पुस्तकमा निहित स्वस्थानी व्रतकथा पुस्तकबारेको विज्ञापनबाट बुझ्न सकिन्छ, यो ग्रन्थ पुराणलगायतका धार्मिक पुस्तकबाट सङ्कलन गरिएको हो । साथै यो पनि अनुमान हुन्छ, स्वस्थानी योभन्दा अघि (पूर्व) देखि समाजमा अस्तित्वमा थियो । प्रारम्भमा बनारस, काशीमा प्रकाशन भएर नेपाली बजारमा आएको स्वस्थानी हाल नेपालमै प्रकाशन हुन्छ । लेखक भट्टराईका अनुसार नेपाली पुस्तक बजारमा सबैभन्दा धेरै बिक्री हुने र सर्वत्र पाउन सकिने ‘स्वस्थानी’ नेपाली समाजमा सर्वाधिक लोकप्रियसमेत छ । 

स्वस्थानी ऐतिहासिक र नैतिक परम्परामा आधारित कथा हो । कथा साहित्यको एउटा विधा हो । साहित्य भाववाचक शब्द हो । साहित्य समाजको अभिन्न अङ्ग हो । वेशभूषा, रहनसहन, शीलस्वभाव, आचार, भोजन प्रभृति साहित्य अन्तर्गत पर्छन् । यसर्थ साहित्य मानव जीवन हो; साहित्य धर्म, दर्शन, सौन्दर्य, सत्य, कल्पना र रहस्य पनि हो । स्वस्थानी पूर्वीय साहित्यमा आधारित छ । खासमा स्वस्थानीमा वैदिक र पुराण साहित्यको सुगन्ध समाहित छ । वेद, ब्राह्मण, आरण्यक, उपनिषद्, रामायण, महाभारत, पुराण, स्मृतिग्रन्थ, सूत्रग्रन्थ, भाष्य, महाकाव्य, नाटक, खण्डकाव्य, आख्यान, चम्पूकाव्य आदि संस्कृतका पूर्वीय काव्यहरूको धेरथोर सुगन्धबाट प्रभावित ‘स्वस्थानी’ नेपाली भाषामा उपलब्ध आर्य सभ्यताको परिचय झल्कने मौलिक ग्रन्थ हो । आर्य सभ्यताका सन्देश पस्कने स्वस्थानीलाई कतिपयले लोकआख्यान पनि भनेका छन् । यस ग्रन्थका पछिल्ला संस्करणहरू बोलीचालीको भाषामा सम्पादन गरिँदै आएको देखिन्छ । हाल २९ देखि ३१ अध्यायसम्म बनाइएको स्वस्थानी भविष्यमा बृहत् ग्रन्थ बन्दै जाने त होइन ? स्वस्थानीले कतै आफ्नो प्राचीन मौलिकता गुमाउने त होइन ? यसतर्फ अध्येताहरू सजग हुनुपर्ने देखिन्छ ।

नेवारी भाषामा स्वस्थानी र मूर्ति

लेखक ऐश्वर्यधर शर्मा (स्वस्थानी–व्रतकथा, संशोधित पाठ र नेपाली अनुवादसहित, काठमाडौँ : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, २०४९) का अनुसार नेपाल संवत् ६९३ तदनुसार विसं १६३० मा पाइएको स्वस्थानीव्रतकथा हालसम्म पाइएको सबैभन्दा पुरानो स्वस्थानी हो । यो ताडपत्रमा छ । जयन्तदेव नामक व्यक्तिले संस्कृतपद्यबाट नेवारी लिपिमा सारेको यो ताडपत्रमा स्वस्थानी महादेवीको मूल कथा मात्र छ । यो ताडपत्र राष्ट्रिय अभिलेखालयमा सुरक्षित छ । 

लेखक शर्माका अनुसार श्री स्वस्थानी देवता स्वस्थानलाई जनाउने वा चिनाउने स्वस्थानी शब्द वस्तुतः देवतावाचक तथा स्वस्थानसूचक हो । नेवारी लिपिमा लेखिएको स्वस्थानी व्रतविधिको पुरानो ठ्यासफुमा निहित स्वस्थानी यन्त्रमा उल्लेख भएका मन्त्रमध्ये ‘ॐ ह्नीं सुठायै नमः’ पनि हो । यहाँ उल्लेख भएको ‘सुठा’ शब्दको अर्थ स्वस्था (स्वस्थादेवी) शब्दको अपभ्रंश शब्द हुन सक्ने लेखकको अनुमान छ । राजा प्रताप मल्लले काठमाडौँको हनुमानढोका राजदरबारको उत्तरपूर्वतर्फ, तलेजु भवानी मन्दिरनिकट मखन तानाबहालमा नेपाल संवत् ७९४ तदनुसार विसं १७३१ को माघ महिनाको शुक्लपक्ष पञ्चमी तिथिमा आयुध र आसनसहित भगवान् शिवको साथमा श्रीस्वस्थानीको प्रस्तर मूर्ति स्थापना गरेका थिए । 

वैदिक सभ्यता र संस्कृति त्रिदेव (ब्रह्मा, विष्णु र महेश्वर) प्रधान छ । सृष्टिकर्ता ब्रह्मा विद्याकी देवी सरस्वतीसँग नजिक छन् । पालनकर्ता विष्णु धनधान्यकी देवी लक्ष्मीनिकट छन् भने संहारकर्ता महेश्वर (शिव वा शङ्कर) मोक्षप्रदाता पनि हुन् । शिव शक्तिकी प्रतीक महाकाली (भद्रकाली पनि भनिने) सँग अभिन्न छन् । स्वस्थानीव्रतकथा शिव र देवीको शक्तिको महिमागान पनि हो । यसमा गोमा ब्राह्मणी र नवराज राजाको कथाले स्वस्था अर्थात् स्थानीयपनको झल्को दिएको छ; जसबाट कथामा मौलिकपन थपिएको छ ।  खस र नेवार दुवै समुदायमा सर्वाधिक महत्व पाएको महात्म्य हो, स्वस्थानी । यसले नेपालका प्रमुख दुई फरक समुदाय नेवार र खस आर्य (ब्राह्मण/क्षत्री) लाई एउटै आँगनमा उभ्याउँछ । लेखक ऐश्वर्यधर शर्माका अनुसार मल्लकालमा काठमाडौँ उपत्यकामा स्वस्थानी महात्म्यपरक नाटक सार्वजनिक रूपमा प्रदर्शन गर्ने गरिन्थ्यो । काठमाडौँको उत्तरपूर्वको साँखु, शालीनदीमा हरेक वर्ष माघ महिनाभर स्वस्थानी मेला लाग्ने गर्छ । भक्तपुरको हनुमानघाटमा नेपाल संवत् ७२२ देखि स्वस्थानी अर्थात् माघ माहात्म्यका अवसरमा माधवनारायणको उपासनायुक्त माघ–मासाब्धिक माघ–धलंको परम्परा चलिरहेको छ ।