रजनी योगी
सुर्खेत, माघ २६ गते । प्रदेश सरकारले यो वर्ष तीन वटा ठुला खानेपानी आयोजना कार्यान्वयन गर्न लागेको छ । दैलेख र सल्यान जिल्लामा तीन वटा ठुला खानेपानी आयोजना कार्यान्वयन गर्न लागिएको हो ।
बजेटको स्रोत सुनिश्चित गरेर बृहत् खानेपानी आयोजनाको काम अघि बढाएको प्रदेश सरकारले जनाएको छ । दैलेख जिल्लाको बारतडी खानेपानी तथा बहुउद्देश्यीय आयोजना, पञ्चकोशी क्षेत्र बृहत् खानेपानी आयोजना र सल्यान जिल्लाको बनगाड कुपिन्डे बृहत् खानेपानी आयोजना सञ्चालन गर्न लागिएको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले जनाएको छ । खानेपानी आयोजना अघि बढाउन प्रदेश सरकारले यो वर्ष १३ करोड बजेट विनियोजन गरेको मन्त्रालयका प्रवक्ता पदमराज देवकोटाले बताउनुभयो । उहाँका अनुसार बजेटको स्रोत सुनिश्चित गरेर आयोजनाको काम अघि बढाइएको छ ।
नागरिकलाई खानेपानी उपलब्ध गराउन तीन वटा परियोजना एकसाथ सञ्चालन गर्न लागिएको देवकोटाको भनाइ छ । सरकारले खानेपानीको स्रोत पहिचान गरेर ठुला खानेपानीका आयोजना सञ्चालन गर्ने नीति अवलम्बन गरेको छ । सोही नीतिबमोजिम प्रदेश सरकारले तीन वटा खानेपानीका आयोजना एकैसाथ कार्यान्वयन गर्न लागेको जनाइएको छ । तीन वटा आयोजनाको यो वर्ष नै ठेक्का सम्झौता गरेर काम अघि बढाइने प्रदेश सरकारले जनाएको छ ।
दैलेख जिल्लामा दुई वटा ठुला खानेपानीका आयोजना सञ्चालन हुने छन् । एउटा खानेपानी आयोजनाको ठेक्का सम्झौता भई काम भइरहेको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखले जनाएको छ । पञ्चकोशी क्षेत्र बृहत् खानेपानी आयोजनाको काम अघि बढाइएको कार्यालयका निमित्त प्रमुख टोपेन्द्रसुन्दर मल्लले बताउनुभयो । यो वर्षदेखि ठेक्का सम्झौता गरेर काम अघि बढाइएको हो । पाँच करोड रुपियाँमा ठेक्का सम्झौता गरिएको मल्लले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा उक्त आयोजनाको काम अघि बढाउन प्रदेश सरकारले दुई करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।
यसै गरी जिल्लाको बारतडी खानेपानी तथा बहुउद्देश्यीय आयोजना निर्माण गर्न लागिएको छ । आयोजना निर्माणका लागि चालु आवमा पाँच करोड बजेट विनियोजन गरिएको प्रदेश सरकारले जनाएको छ । अहिले अध्ययनको काम भइरहेको कार्यालय प्रमुख मल्लले बताउनुभयो । उहाँका अनुसार अध्ययनको रिपोर्टका आधारमा अन्य काम अघि बढाइने छ । उक्त आयोजना अघि बढाउन ८५ लाख रुपियाँको लागत अनुमान छ । सरकारले पाँच करोड बजेट विनियोजन गरेको छ ।
सल्यान जिल्लाको बनगाड कुपिन्डे बृहत् खानेपानी आयोजना निर्माणका लागि बजेट स्रोत सुनिश्चित गरेर आयोजना अघि बढाउन लागिएको प्रदेश सरकारले जनाएको छ । आयोजनाको अध्ययनको काम सकेर सम्झौताको चरणमा रहेको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय सल्यानले जनाएको छ । आयोजना अघि बढाउन १२ करोड बजेटको स्रोत सुनिश्चित भएको कार्यालय प्रमुख अनुप श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार टेन्डर गरेर ठेक्का सम्झौताको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यो वर्ष ऊर्जा विकास मन्त्रालयले एक हजार दुई सय हेक्टर जमिनमा सिँचाइ विस्तार गर्ने लक्ष्य लिएको छ । मन्त्रालयले खानेपानी, सिँचाइ तथा ऊर्जा विकासका क्षेत्रमा काम गर्दै आइरहेको छ ।
कर्णालीमा कृषियोग्य जमिनको क्षेत्रफल धेरै भए पनि सिँचाइको भने अभाव छ । हालसम्मको तथ्याङ्कले कुल सिञ्चित क्षेत्रफल २८.८ प्रतिशत मात्रै देखिएको छ । प्रदेशभर ५६.८ प्रतिशतले सिँचाइ सुविधा लिएका छन् । कृषि गणना अनुसार कर्णाली प्रदेशमा मुख्य गरेर धान, मकै र गहुँको खेती बढी हुन्छ । २९ हजार २४१ हेक्टर जमिनमा धान खेती हुने गरेको छ भने ४० हजार ८३ हेक्टरमा मकै र ५१ हजार २६ हेक्टरमा गहुँ खेती भइरहेको छ ।