देशको अर्थतन्त्रप्रति गम्भीर विचारविमर्श भइरहेका छन् । खास गरी नेपाली युवा बेरोजगार भई दिनमै दुई/तीन हजार बिदेसिनु परेको वर्तमान अवस्थामा सुधार ल्याउन अनेक चिन्तन स्वाभाविक छन् । भनिन्छ नि, पेरिस एकै दिनमा बनेको होइन । हरेक कामका निम्ति समय चाहिन्छ । लक्ष्यमा पुग्न प्रतिबद्धता चाहिन्छ, इमानदार प्रयास चाहिन्छ । सरकारले हालै आर्थिक सुधारका निम्ति कानुनी प्रबन्धसमेत गरेको छ । अर्थतन्त्रको आन्तरिक व्यवस्थापन अझै प्रभावकारी हुन नसकेकै बेला यो सुधारले लगानीमैत्री वातावरण बन्ने अपेक्षा गरिएको छ । लगानीको वातावरण बन्न सक्यो भने आन्तरिक लगानीका निम्ति पर्याप्त तरलता अहिले बैङ्क तथा वित्तीय संस्थामा मौजुद छ । आन्तरिक लगानी बढ्दै जाँदा त्यसको प्रसार बाह्य लगानीतर्फ समेत हुन थाल्छ । वैदेशिक लगानी पनि आकर्षित हुन सक्ने छ । वास्तवमा लगानीका निम्ति अर्थतन्त्रका धेरै सूचक सही दिशामै अग्रसर छन् । खास गरी अर्थतन्त्रका कतिपय बाह्य सूचक आसलाग्दा छन् । पछिल्ला परिसूचकले चालु आर्थिक वर्षको आगामी दिनमा लगानी प्रवर्धनका निम्ति वातारण बन्दै गएको देखिन्छ ।
केन्द्रीय बैङ्कले चालु आव २०८१/८२ को छ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । यो छ महिना यस आवको अर्धवार्षिक अवधि पनि हो । यस अवधिमा वैदेशिक मुद्रा सञ्चिति बढ्दै छ । निर्यातमा बिस्तारै सुधार आउन थालेको छ । शोधनान्तर स्थिति र चालु खातासमेत बचतमा छ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालु खाता एक खर्ब ४८ अर्ब १७ करोड रुपियाँले बचतमा छ । यो बचत अघिल्लो वर्षको सोही अवधिमा भने केही न्यून हो । गत आवका छ महिनामा चालु खाता एक खर्ब ६२ अर्ब ५६ करोड रुपियाँले बचतमा थियो । अमेरिकी डलरमा भने अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब २२ करोडले बचतमा रहेको चालु खाता यो छ महिनामा एक अर्ब आठ करोडले बचतमा छ । यो छ महिनामा छ अर्ब ५० करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी चार अर्ब ५४ करोड मात्र रहेको थियो । बिस्तारै वैदेशिक लगानी बढ्दै गएको देखिन्छ ।
नेपालको वैदेशिक व्यापार वास्तवमा आयातमै निर्भर छ । लामो समयदेखि आयातको आयतन क्रमशः बढ्दै गएको छ भने निर्यात चाहे जसरी बढ्न सकेको छैन । यो छ महिनामा भने निर्यातको वृद्धिदर आसलाग्दो छ । यो अवधिमा कुल वस्तु निर्यात ३१.८ प्रतिशतले बढेर ९८ अर्ब ७९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.२ प्रतिशतले कमी आएको अवस्था हेर्ने हो भने निर्यातले बिस्तारै पखेटा फिँजाउन थालको देख्न सकिन्छ । सोयाबिन तेल, चिया, पोलिस्टर यार्न तथा थे्रड, अलैँचीलगायतका वस्तुको निर्यात बढ्न थाल्नु सकारात्मक सङ्केत हो । निर्यातको यो सुधार आयातसँग प्रत्यक्ष तुलना भने गर्न सकिन्न । आयात यो छ महिनामा ७.१ प्रतिशतले बढेर आठ खर्ब २२ अर्ब ३७ करोड पुगेको छ । अर्बको निर्यातलाई खर्बको आयातले व्यापार असन्तुलन फराकिलो बनाएको छ । अघिल्लो आवको पहिलो छ महिनामा भने आयात ३.१ प्रतिशतले कमी आएको थियो । आन्तरिक उत्पादन बढाएर आयात प्रतिस्थापनका साथै निर्यात प्रवर्धन गर्नुपर्ने चुनौती छ ।
विदेशी मुद्राको सञ्चिति भने निरन्तर बढेर गएको छ । यो छ महिनामा कुल विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले वृद्धि भई २३ खर्ब १६ अर्ब ८४ करोड पुगेको छ । गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपियाँ विदेशी मुद्रा थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा पुस मसान्तमा १०.३ प्रतिशतले वृद्धि भएर १६ अर्ब ८४ करोड पुगेको छ । अमेरिकी डलरको निरन्तर मूल्यवृद्धिले भने देशीय मुद्रालाई चुनौती थपेको छ । आयातित सरसामान अझ महँगो हुँदै जाने जोखिम बढेको छ । देशभित्र उत्पादन बढाउन सक्दा निर्यात अझ बढाउन सक्ने अवसर भने सिर्जना भएको छ । रोजगारी बढाउन लगानी बढाउनैपर्ने अवस्था छ भने सरकारले पुँजीगत खर्च बढाउने प्रयास गर्नु पनि वाञ्छनीय छ ।