• २१ माघ २०८१, सोमबार

अमेरिकामा भूपेन्द्रलाई दुई स्वर्ण

blog

पदकसहित भूपेन्द्र गुरुङ ।

काठमाडौँ, माघ २१ गते । नेपालका भूपेन्द्र गुरुङले व्याटल अफ ड्रागन्स विश्व च्याम्पियनसिपमा दुई स्वर्ण जित्नुभएको छ । अमेरिकाको एट्लान्टिक सिटीस्थित ट्रोपिकानो होटलमा भएको प्रतियोगितामा भूपेन्द्रले फरक स्पर्धामा दुई  स्वर्ण जित्नुभएको हो । 

उहाँले कुङ्फु फम्सको छान् छ्वान् र म्युजिकल फम्सको ताइचीमा स्वर्ण जित्नुभयो । प्रतियोगितामा नेपाल, क्यानाडा, मेक्सिको, इजरायल, रोमानिया, बहमास, बंगलादेश, भारत, क्युबासहित अमेरिकाका विभिन्न २० मार्सल आर्ट्स स्कुलका करिब तीन सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए । 

भूपेन्द्रको टिम व्यवस्थापकमा मनित गुरुङ रहनुभएको थियो । गत नोभेम्बर यता अमेरिकामा भूपेन्द्रले खेलेको यो तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । यसअघि भूपेन्द्रले १५औँ गोल्डेन ड्रागन च्याम्पियनसिपमा दुई रजत जित्नुभएको थियो । 

उहाँले छैटौँ एनुएल बक्स काउन्टी विन्टर मार्सल आर्ट्स च्याम्पियनसिपमा पनि एक स्वर्ण र एक रजत गरी दुई पटक जित्नुभएको थियो । भूपेन्द्र नेपाल उमा कुङ्फु सङ्घका उपाध्यक्ष समेत हुनुहुन्छ ।