• २० माघ २०८१, आइतबार

तातोपानी नाका जोड्ने बेलिब्रिज राख्न जग र ढलान

blog

बाढीले बगाएको तातोपानी नाका जोड्ने लिपिङ खोलामा नयाँ बेलिब्रिज जडान गर्न निर्माण सम्पन्न जग र ढलानका काम । तस्बिर : चित्र मिजार

चित्र मिजार
सिन्धुपाल्चोक, माघ २० गते ।
असोज ११ र १२ गतेको भीषण बाढीले बगाएको तातोपानी नाका जोड्ने लिपिङ खोलाको पक्की पुलमा नयाँ बेलिब्रिज राख्ने जग र ढलानलगायतका सबै काम सम्पन्न भएको छ ।

उक्त खोलाको दुवैपट्टीको भागमा जग निर्माण र ढलान सम्पन्न भएर सुकाउने काम भइरहेको छ । त्यस समयमा बेलिब्रिज जडान गर्न आवश्यक सबै उपकरण जुटाउन थालिएको छ । ढलान सुकेपछि नेपाली सेनाको प्राविधिक सहयोगमा बेलिब्रिज जडानका काम हुनेछ । बेलिब्रिज चार, पाँच दिनमै जडान गरिसकिने सडक डिभिजन कार्यालय चरिकोटले जनाएको छ ।

माघ ६ गतेदेखि २५ गतेसम्म नाका पूर्णरुपमा बन्द गरेर बेलिब्रिज निर्माणलाई तीव्रता दिईआएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभयो । सडक डिभिजन कार्यालय चरिकोट र नेपाली सेनालाई तातोपानी नाका अन्तर्राष्ट्रिय नाका भएकाले निर्धारित समयमा बेलिब्रिज राख्न भनिएको उहाँले बताउनुभयो । सोहीअन्र्तगत दुवै निकायले काम धमाधम थालेका छन् ।

माघ २५ गतेभित्र बेलिब्रिज जडानका काम सकेर त्यसपछि नाकाबाट मालबाहक कन्टेनर उक्त बेलिब्रिज हुँदै राजधानी जाने आउने छन् । बेलिब्रिज राख्नका लागि नाका आवद्ध व्यापारिक संघसंस्थाहरुले सघाईरहेका छन् । समयमा नै बेलिब्रिज जडान गरेर सहजतापूर्वक आयात–निर्यात हुने आशामा रहेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष उमेश प्रधानले बताउनुभयो । चिनमा ल्होसार पर्व परेकाले पनि नाका बन्द हुँदा असर नपरेको व्यापारिक संघसंस्थाले जनाएका छन् ।

लिपिङ खोलामा बेलिब्रिज हाल्ने काम धमाधम भए पनि सोही वर्षातको भोटेकोशी नदीको भीषण बाढीले बगाएको लार्चा बेलिब्रिजमा पनि बेलिब्रिज राख्ने कार्यमा सडक डिभिजन कार्यालय चरिकोटले सडक वभागसँग पहल गरिरहेको छ । सडक विभागले लार्चामा आउँदो बर्खायाम अगाडि नै बेलिब्रिज राख्न सकरात्मक देखिएको सडक डिभिजन कार्यालयका सूचना अधिकृत इन्जिनियर सुरज मर्हजनले जानकारी दिनुभएको छ । बाह्रबिसेस्थित साँधी खोल्सामा निर्माणधीन पक्की पुल पनि बर्खा अघि निर्माण सम्पन्न भई सवारी साधान सञ्चालनमा आउने महर्जनले बताउनु भयो । बाह्रबिसे नगरपालिका–३ खाग्दलमा बाढीले बेलिब्रिज बगाएपछि अहिले नयाँ बेलिब्रिज हालेर मालबाहक कन्टेनरलगायतका सवारीसाधान सञ्चालनमा आएको दुई महिना बढी भएको छ ।

सडक डिभिजन कार्याकानुसार वर्षायाम अघि नै सिन्धुपाल्चोक र काभे्रपलाञ्चोकको सीमाना बन्देउदेखि चीन सीमाना मितेरी पुलसम्मको लिपिङ सडक खण्ड चौढा, कालोपत्रेलगायत स्तरोन्नति गरिसक्ने जनाएको छ । अरनिको राजमागअन्तर्गत उक्त खण्डमा आधा दर्जन ठुला बजारहरु रहेकाले स्तरोन्नतिमा समस्या पर्ने देखिएको छ । स्थानीयहरुले उचित मुआब्जा माग गरिरहेको छन् ।