बिष्णुप्रसाद पोखरेल
दमक, माघ १५ गते । झापा सहित पूर्वी नेपालमा बसोबास रहेको आदिवासी सन्थाल समुदायले परम्परागत ‘सोहराय’ पर्व मनाएका छन् । जाडो बिदाको समयमा वर्षेनी सन्थालहरुले सोहराय पर्व मनाउने गरेको पाइन्छ ।
सन्थालहरुको बाहुल्यता रहेको झापाको हल्दिवारी गाउँपालिका र भद्रपुर नगरपालिकाले मंगलवार सोहरायको अवसरमा स्थानीय सार्वजनिक बिदा दिएका थिए । झापा सन्थालहरुको सबैभन्दा बढी बसोबास भएको जिल्ला मानिन्छ ।
नेपाल सन्थाल आदिवासी उत्थान संघ बाह्रदशीका सचिव शिव मुर्मूका अनुसार आफूहरुको प्रमुख यो चाड एकसातासम्म मनाइने गरेको छ । सोहरायको पहिलो दिनलाई ‘उम’, दोस्रो दिनलाई ‘दाका’, तेस्रो दिनलाई ‘खुन्टौ’, चौथो दिनलाई ‘जाली’, पाँचौँ दिनलाई ‘हाकुकाद्कम’ र छैटौँ दिनलाई ‘साकरात’ भनिने गरेको छ ।
मिठोमसिनो खाने र एकअर्काको गाँउ तथा घरमा गएर रमाईलो गरेर सन्थालहरुले यो पर्व मनाउँदै आएका छन् । कमल किस्कुका अनुसार सबै काम छाडेर यो पर्वमा रमाईलो गर्ने गरिएको छ । यो पर्वमा चेलीबेटी र पाहुनाहरुलाई निमन्त्रणा गरिएको हुन्छ गरेर उनीहरुले ल्याएका कोसेली वितेका पूर्वजहरुलाई चढाएर नाँचगान पनि हुने गरेको छ ।