अमरराज नहर्की
तनहुँ, माघ १५ गते । निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाले आयोजना प्रभावित व्यास नगरपालिका–५ बेनीपाटनमा विद्यालय भवन निर्माण गरेको छ । नगरपालिकाले उपलब्ध गराएको जग्गामा पराशर माध्यमिक विद्यालयको आठ कोठा भएको दुई तले भवन निर्माण गरिदिएको हो ।
जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्ने क्रममा विद्यालयको भवन निर्माणका लागि सहयोग गरिएको तनहुँ जलविद्युत् आयोजनका प्रमुख श्यामजी भण्डारीले बताउनुभयो । भण्डारीका अनुसार आयोजनाले प्रभावित बासिन्दालाई नाला तथा तटबन्धन, आमा समूहको भवन निर्माण, सडक बत्ती जडान, नदी नियन्त्रण, सीप मुलक तालिम लगायतका काम गर्दै आएको हो । सामाजिक विकास कार्यक्रमअन्तर्गत हालसम्म व्यास तथा भिमाद नगरपालिका र ऋषिङ, म्याग्दे तथा बन्दीपुर गाउँपालिका आयोजना प्रभावित वडाहरूमा ६६ योजनाहरू सम्पन्न भएका छन् । ९ वटा योजनाहरू हाल सञ्चालित छन् ।
नव निर्मित भवनको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सोमबार उद्घाटन गर्नुभयो । सो अवसरमा न्यौपानेले परिवर्तनको मुख्य आधार शिक्षा भएकोले आयोजनाले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर सहयोगमा समेट्नु उपयुक्त भएको बताउनुभयो । भवन निर्माणका लागि आयोजना र निर्माण व्यवसायी ऐञ्जल पारस जेभीबिच रू एक करोड ३५ लाख ५७ हजारको लागतमा ठेक्का सम्झौता भएको थियो ।
सम्झौता भएको दुई वर्षमा विद्यालय भवनको निर्माण पूरा भएको आयोजनाले जनाएको छ । नयाँ भवन निर्माणपछि अध्ययन अध्यापनमा सहयोग पुगेको प्रधानाध्यापक रामदत्त पौडेल जानकारी दिनुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले लागु गरेको डिजाइनअनुसार निर्माण गरिएको विद्यालय भवन भूकम्प प्रतिरोधी एवम् अपाङ्गमैत्री रहेको आयोजनाले जनाएको छ ।