स्याङ्जा समाचारदाता
स्याङ्जा, माघ १४ गते । २०७२ सालको भूकम्पबाट घरबासविहीन भएकालाई सरकारले एकीकृत बस्ती निर्माण गरिदिएको छ । अर्जुनचौपारीको तिलडाँडामा पनि एकीकृत बस्ती निर्माण गरिएको छ । नमुना बस्ती निर्माण भएको छ वर्षसम्म पनि यहाँका नागरिकले लालपुर्जा भने पाउन सकेका छैनन् । विनाशकारी भूकम्पले वडा नं. ४, राम्चेका १५ घर बस्नै नहुने गरी क्षति भएको थियो । सोही क्षति पुगेका घरलाई तिलडाडाँमा सारिएको हो ।
एकीकृत बस्ती बनाउने समयमा पूर्ण रूपमा क्षति पुगेका १५ परिवारको सामूहिक लालपुर्जा बने पनि व्यक्तिगत नाउँमा हालसम्म पनि बन्न नसकेको स्थानीय शालिकराम चापागाईंले गुनासो गर्नुभयो । उहाँले पुनर्निर्माण प्राधिकरण खारेज भएसँगै कसरी लालपुर्जा बनाउने आफूहरू अनभिज्ञ रहेको र लामो समयसम्म व्यक्तिगत लालपुर्जा नपाउँदा आफ्नै घरको अनुभूति हुन नसकेको उहाँको भनाइ थियो ।
बस्तीमा छैन खेती गर्ने जग्गा
यहाँ लालपुर्जाको मात्र नभई एकीकृत नमुना बस्तीमा बनेका लाभग्राहीलाई खेती गर्ने जग्गाको समेत समस्या रहेको छ । बस्नका लागि बास भए पनि खेती गर्न जग्गा जमिन नहुँदा समस्या भएको स्थानीय रमा चापागाईंले बताउनुभयो । सरकारले पीडितलाई जग्गा खरिदका लागि दुर्ई लाख र घर निर्माणका लागि तीन लाख रुपियाँ दिएको थियो । बस्ने बासका लागि निकै सहज भए पनि खेती गर्ने ठाउँ नहुँदा अर्कैको जग्गा कमाइ गरी खान परेको चापागाईंको गुनासो थियो ।
नमुना बस्तीलाई सरकारले खानेपानी, बिजुलीबत्ती, सडकको पहुँचमा पुर्याए पनि दीर्घकालीन जीविकोपार्जन गर्नका लागि खेतीयोग्य जग्गाको व्यवस्थासमेत गर्न सके सिंहदरबार गाउँमै आएको यहाँका स्थानीयले अनुभूति गर्ने छन् ।
अझै बसेन बसाइ
भूकम्प गएको पाँच वर्षपश्चात् जोखिम बस्ती बनाउन थालिएको अर्जुनचौपारी–४ को निबुवाबोटमा भने अझै बस्ती बसेको छैन । जग्गा किनेर घर बनाउन पूर्वाधार बने पनि यहाँका १० घर भने बन्न सकेका छैनन् ।
भूकम्पको कार्यालयले पूर्वाधार बनाउने क्रममा बजेट फ्रिज भएर काम सम्पन्न नहुँदा नयाँ बस्ती जान नसकिएको स्थानीय विष्णुप्रसाद ढकालले बताउनुभयो । यहाँ आउन बाटोसमेत राम्रो नभएकाले सामान ओसारपसार गर्न नसकिँदा काम ढिलाइ भएको उहाँले बताउनुभयो । सानो संरचना हुनु, पूर्वाधार राम्रो नहुनु, पशुचौपाया पाल्ने ठाउँ र तरकारी लगाउने ठाउँ पनि नहुँदा पुरानो जोखिम बस्तीमै यहाँका १० घर बस्नु परेको हो । विनाशकारी भूकम्पका कारण मानवीय क्षति नभए पनि यहाँ तीन हजार ११९ पूर्ण र नौ हजार ६९५ घरमा आंशिक क्षति पुगेको थियो ।