• १४ माघ २०८१, सोमबार

राष्ट्रिय बुद्धिचाल : राजन र ईशाको विजयी सुरुवात

blog

पहिलो दिन चाल चल्दै महिला खेलाडी ।

काठमाडौँ, माघ १३ गते । झापाका राजन सुवेदी र बाँकेकी ईशा गिरीले २५औँ पुरुष तथा १०औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा विजयी सुरुवात गर्नुभएको छ ।

नेपाल बुद्धिचाल महासङ्घको आयोजनामा हेटौँडामा आइतबारदेखि सुरु भएको प्रतियोगितामा पुरुषतर्फ राजनले पहिलो चरणको खेलमा ललितपुरका सरोज महर्जनलाई हराउनुभयो । 

महासङ्घले केही वर्षदेखि राष्ट्रिय च्याम्पियनसिपको फरम्याटमा नेसनल सिनियर च्याम्पियनका शीर्ष तीन जना र नेशनल ‘बी’ बाट आएका शीर्ष नौ जनाबिच राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्दै आएको छ । जसअनुसार महिला र पुरुष विधामा समान १२ जना खेलाडीबिच एक अर्कासँग ११ चरणसम्म प्रतिस्पर्धा हुनेछ । 

सोमबार सिएम शुश्रुत दाहाल पूर्व नेपाल च्याम्पियन एफएम रुपेश जैसवालसँग पराजित हुनुभयो । एफएम क्षितिज भण्डारीले आशा गरिएका युवा खेलाडी पुरुषोत्तम सिलवाललाई स्तब्ध बनाउनुभयो । अर्को खेलमा काठमाडौँका प्रेमकृष्ण महर्जनले सुनसरीका धिरेन राईमाथि कठिन जित निकाल्नुभयो ।

यस्तै पूर्व नेपाल च्याम्पियन सिएम नवीन तण्डुकारले भक्तपुरका युवा खेलाडी विनय थापालाई र दोलखाका युवा खेलाडी आशिष फुँयालले एफएम रिजेन्द्र राजभण्डारीलाई पछि पार्नुभयो । पहिलो चरणमा जित निकाल्ने खेलाडीले एक अङ्क जोड् सफल भए । 

यसैगरी महिलातर्फ उदीयमान खेलाडी ईशाले पुनम प्रसाईं र एञ्जल महर्जनले ओलम्पियाड खेलाडी शान्ति धिमाललाई हराउँदै अप्रत्याशित नतिजा निकाल्नुभयो । वर्तमान नेपाल च्याम्पियन सिन्दिरा जोशीले निहाना श्रेष्ठमाथि सहज जित निकाल्नुभयो ।

अन्य खेलमा झापाकी कृतिसारा अधिकारीले नयुमा मगरलाई, ताप्लेजुङकी शुशिला गुरुङले चितवनकी लक्ष्मी कँडेललाई र काठमाडौँकी बिनिता कपालीले दानिशा पुरीलाई हराउँदै एक अङ्क जोड्नुभयो । 

प्रतियोगितामा मङ्गलबार थप दुई चरणको खेल हुने संयोजक एवं महासङ्घका महासचिव धरमबहादुर लामाले जानकारी दिनुभयो । २५ लाख रुपियाँ लगानीमा सञ्चालित प्रतियोगिताका लागि बागमती प्रदेश खेलकुद विकास परिषद्, राष्ट्रिय खेलकुद परिषद्, हेटौँडा उपनगरपालिकालगायत संस्थाले सहयोग गरेको पनि लामाले बताउनुभयो ।