• ११ माघ २०८१, शुक्रबार

रोकियो खोटो निकासी

blog

अमरगढी समाचारदाता 

डडेलधुरा, माघ ११ गते । डडेलधुरामा वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) नै नगरी खोटो सङ्कलन हुने काम बन्द गरिएपछि अहिले खोटो निकासी रोकिएको छ । 

डडेलधुराका ५०३ सामुदायिक वनमध्ये ६१ वटा वनबाट खोटो सङ्कलन हुने गरेको डिभिजन वन कार्यालय डडेलधुराका वन अधिकृत भीमबहादुर कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष डडेलधुरामा दिव्या रोजिन टर्पेनटाइन, हिमालयन र माउन्टेन नामक रोजिन कम्पनीले खोटो सङ्कलन गरेका छन् । ती कुनै पनि कम्पनीले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) भने गरेका छैनन् । 

इआइए नगरेका कारण अहिले तीन वटै कम्पनीले सङ्कलन गरेको करिब आठ लाख किलोग्राम खोटो निकासी हुन सकेको छैन । सामुदायिक वनसँग खोटो सङ्कलन कम्पनीहरूले राजस्व बुझाउने गरेर सम्झौता गरेका हुन्छन् । उहाँले भन्नुभयो, “एउटा वनसँग कम्तीमा पनि पाँच वर्षका लागि सम्झौता हुने गरेको हुन्छ ।” पाँच वर्षमा एक पटक इआइए गरिनुपर्ने हो तर यस वर्ष त्यो गरिएको छैन । खोटो सङ्कलन गरिसके पनि अहिले सङ्कलक कम्पनी इआइए गर्ने चरणमा रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार खोटो सङ्कलक कम्पनीहरूले वृक्षरोपण, डढेलो लाग्न नदिन र वन सचेतीकरणका कार्यक्रम अनिवार्य रूपमा गर्नुपर्ने हुन्छ तर यी कुनै पनि क्रियाकलाप गर्ने गरेका छैनन् । 

वन कार्यालयले नीतिगत प्रक्रियामा गए निकासी रोकिने र कार्यालय प्रमुखकै सरुवा हुने प्रवृत्ति रहेको वन अधिकृत कँडेलले बताउनुभयो । वन जोगाउन र दीर्घकालीन रूपमा वनलाई व्यावसायिक बनाइराख्ने गरी कुनै पनि काम हुन नसकेको उहाँले बताउनुभयो ।