घोडाघोडी समाचारदाता
घोडाघोडी (कैलाली), माघ ११ गते । कैलाली जिल्लामा करिब ५६ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ ।
राष्ट्रव्यापी रूपमा सञ्चालन हुने एचपिभी खोप अभियान माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुने छ । खोप कार्यक्रममा सहभागी हुने कैलालीका १३ वटा पालिकाका किशोरीलाई खोप लगाइने भएको हो । जनस्वास्थ्य कार्यालय कैलालीका खोप निरीक्षक प्रदीप जोशीले जिल्लाभर ७५५ वटा खोप केन्द्रबाट ५६ हजार किशोरीले खोप लगाउने जानकारी दिनुभयो । उहाँले कैलालीका १३ वटा पालिकामध्ये सबैभन्दा बढी खोप धनगढी उपमहानगरपपालिकामा १० हजार पाँच सय जना किशोरीलाई खोप लगाइने बताउनुभयो ।
सो खोप ६ देखि १० कक्षासम्मका र विद्यालयभन्दा बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई लगाउने छन् । विद्यालयबाहिरका करिब पाँच हजार किशोरीलाई सो खोप लगाउने खोप निरीक्षक जोशीले बताउनुभयो । महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध लगाइने सो खोप कार्यक्रममा लक्षित समूहका किशोरी नछुटून् भन्ने उद्देश्यले केन्द्रदेखि वडा तहसम्म खोप समन्वय समिति बनाएर तयारीमा जुटेको उहाँले जानकारी दिनुभयो ।
खोप अभियानलाई सफल बनाउन घोडाघोडी नगर खोप समन्वय समितिले अभिमुखीकरण कार्यक्रमको आयोजना गरि खोप कार्यक्रमलाई प्रभावकारी बनाउन आह्वान गरेको छ । ५२ सामुदायिक विद्यालयका ६ देखि १० कक्षासम्मका र विद्यालयभन्दा बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउने जनाएको छ ।
सोही क्रममा खोप अभियानमा विद्यालय र विद्यालयभन्दा बाहिर रहेका चार हजार ९२१ जना किशोरीलाई खोप दिइने घोडाघोडी नगरपालिका स्वास्थ्य शाखा प्रमुख कैलाशकुमार रावतले जानकारी दिनुभयो । जसमा चार हजार ८७० जना विद्यालयका र ५१ जना विद्यालय बाहिरका किशोरी रहने छन् ।
विद्यालयमा खोप केन्द्र राखी जोखिम क्षेत्र, सीमान्तकृत, सीमा क्षेत्र, प्राकृतिक प्रकोप , विकट क्षेत्र, धार्मिक विद्यालय, आश्रम, फरक क्षमताका किशोरीलाई विशेष प्राथमिकताका साथ अभियान सफल बनाउने गरेर तयारी भएको शाखा प्रमुख रावतले जानकारी दिनुभयो । २४ जना तालिम प्राप्त स्वास्थ्यकर्मीले विभिन्न विद्यालयमा रहेको खोप केन्द्रबाट सेवा दिने जनाइएको छ ।
घोडाघोडी नगरपालिकाका नगर उपप्रमुख गुलियाकुमारी चौधरीले नेपालमा दैनिक चार जना महिलाको क्यान्सर रोगका कारण मृत्यु हुने जनाउँदै खोप अभियानलाई सफल बनाउन सरोकारवाला सम्पूर्णको सहयोग आवश्यक रहेको बताउनुभयो ।
उहाँले आमा समूह, टोल विकास समूह, भलमनसा, जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविका, विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक सबैलाई अभियान सफल बनाउन आह्वान गर्नुभयो ।