गोकर्ण पौडेल
तुलसीपुर, माघ ९ गते । तुलसीपुर उपमहानगरपालिका १९ मा रहेको क्रान्ति सङ्ग्रहालयमा रहेका संरचना जीर्ण बन्दै गएको छ । सोही ठाउँमा २०६२-६३ को जनआन्दोलन पश्चात् तत्कालीन नेकपा माओवादी सेनाहरूलाई व्यवस्थापन गर्नका लागि दीर्घस्मृति बिग्रेडमा प्रारम्भिक चरणमा करिब दुई हजार सेना राखिएको थियो ।
लामाखोला महिला सामुदायिक वनभित्रको करिब २५ हेक्टर क्षेत्रफलमा सेना बस्नका लागि आवास, विद्युत्, खानेपानी, खेल मैदान, गेट, सेन्ट्री प्वाइन्ट र शौचालय निर्माण गरिएको थियो । तत्कालीन माओवादी सेनालाई नेपाली सेनामा समायोजन गरिएसँगै त्यस क्षेत्रको सुरक्षा सशस्त्र प्रहरीले गर्दै आएको थियो । स्थानीय सरकारलाई तत्कालीन सशस्त्र प्रहरीले हस्तान्तरण गरेको थियो भने स्थानीय तहले स्थानीयवासीलाई उक्त सङ्ग्रहालय संरक्षणका लागि हस्तान्तरण गरेको छ ।
सङ्ग्रहालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष विभीषण रोकामगरले सङ्ग्रहालयमा तत्कालीन माओवादीले सेनाले प्रयोग गरेका हातहतियार,पोशाक राख्ने योजना रहेको बताउनुुभयो । उहाँले सङ्ग्रहालयमा हाल रहेका संरचनामै राख्दा सुरक्षा अभाव हुने भएकाले थप संरचना निर्माण गरेर ती सामग्री राखिने रोकाले बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका १९ का वडाध्यक्ष प्रेमनाथ योगीले सङ्ग्रहालय संरक्षणका लागि सङ्घ र प्रदेश सरकारसँग बजेट माग गरेपनि पर्याप्त बजेटका अभाव हुँदै आएको बताउनुभयो । अध्यक्ष योगीले भन्नुभयो, विस्तृत विवरण परियोजनामा (डिपिआ) १६ करोडको बजेट लागतमा संरचनामा निर्माण गरिने उल्लेख छ तर प्रत्येक वर्ष सङ्घ प्रदेश सरकारबाट थोरै बजेट आउँछ । उहाँले सङ्ग्रहालयमा पालिकास्तरबाट खेल मैदान निर्माण गरिएको बताउनुभयो ।
वडा नम्बर १९ का वडा सदस्य एवम् स्थानीय रामबहादुर पौडेलका अनुसार परियोजनामा तत्कालीन जनसेनासँग सम्बन्धित रहेको सेन्ट्री प्वाइन्ट, आवास, गेटको संरक्षण गर्ने विषयवस्तुहरू रहेका छन्। त्यहाँ ल्याइएको खानेपानी भने स्थानीयवासीहरूले उपयोग गर्दै आएको स्थानीय नन्दलाल खड्काले बताउनुभयो ।त्यस क्षेत्रको संरक्षणका लागि तुलसीपुर उपमहानगरपालिकाले एक जना हेरालुका लागि मासिकरूपमा तलब प्रदान गर्दै आएको छ ।