• ९ माघ २०८१, बुधबार

उत्कृष्ट काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई सम्मान

blog

उत्कृष्ट कार्यसम्पादन गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई सम्मान गरिँदै।

चन्द्र पन्दाक

ताप्लेजुङ, माघ ९ गते। ताप्लेजुङमा कार्यरत उत्कृष्ट सशस्त्र प्रहरी कर्मचारीलाई सम्मान गरिएको छ। सशस्त्र प्रहरीको २४ औँ स्थापना दिवसको अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई बुधबार सम्मान गरिएको हो।

जिल्लास्थित सशस्त्र प्रहरी बल नेपाल नं १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घाले सशस्त्र प्रहरी निरीक्षक डिगेन्द्र ओलीसहितका कर्मचारीलाई सम्मान गरेको हो। यस्तै सम्मानित हुनेमा सशस्त्र प्रहरी नायव निरीक्षक जीवन पतङ्वा, सशस्त्र प्रहरी नायव निरीक्षक कृष्णदेव यादव,  सशस्त्र प्रहरी हवल्दार डिकबहादुर तामाङ र सशस्त्र प्रहरी परिचर दिनेश थापा मगर रहनुभएको छ।

सशस्त्र प्रहरी जवानमा आदिम गुरुङ, रामकुमार खंग र वकिल साह पनि कर्तव्यनिष्ठ र इमान्दार भई उत्कृष्ट कार्य सम्पादन गरेकोमा सम्मानित हुनुभएको छ। यस्तै चालू आर्थिक वर्षको विभिन्न महिनामा उत्कृष्ट कार्य सम्पादन गर्ने सशस्त्र प्रहरी कर्मचारीलाईसमेत सम्मान गरिएको गुल्मपछि सशस्त्र प्रहरी नायव उपरीक्षक नरेश महर्जनले जानकारी दिनुभयो।

महिनाको उत्कृष्ट सशस्त्र प्रहरी कर्मचारीको रुपमा सशस्त्र प्रहरी सहायक हवल्दार मीनाकुमारी थारु, सशस्त्र प्रहरी हवल्दार उमेशकुमार माझी, सशस्त्र प्रहरी जवान अमरेशकुमार यादव र सशस्त्र प्रहरी जवान झनक बानियाँ सम्मानित हुनुभएको छ। सम्मानित सशस्त्र प्रहरी कर्मचारीलाई प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावल र सप्रनाउ महर्जनले सम्मान गर्नुभएको थियो।

यता दिवसको अवसरमा फुङ्लिङ नगरपालिका–२ वडा कार्यालयले गुल्म परिसरभित्र निर्माण गरिदिएको विश्रामलय (फलैँचा) को उद्घाटनसमेत गरिएको छ। प्रजिअ शर्मा र २ नं वडाका वडाध्यक्ष मोहन न्यौपानेले विश्रामलयको उद्घाटन गर्नु भएको सशस्त्र प्रहरी बल नेपाल नं १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घाले जनाएको छ। कार्यक्रममा शुभकामना आदानप्रदानसमेत गरिएको छ।