• ८ माघ २०८१, मङ्गलबार

एसइई परीक्षा

कुनै पालिकामा पाँच वटा केन्द्र, कतै एउटा मात्रै

blog

शिक्षा विकास तथा समन्वय एकाइ बैतडी । तस्बिर : गोकर्ण दयाल

बैतडी समाचारदाता 

बैतडी, माघ ८ गते ।   माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा केन्द्र कुनै पालिकामा पाँच वटा त कुनैमा एउटा मात्र हुँदा विद्यार्थीले सास्ती भोग्नु परेको छ । परीक्षा केन्द्र पायक पर्ने ठाउँमा नहुँदा सुगमबाट एक दिन पैदल दुरीमा हिँडेर दुर्गम गाउँमा डेरा खोज्नुपर्ने बाध्यता छ । 

परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यही माघ २ गते ७७ वटै जिल्लालाई परीक्षा केन्द्रसम्बन्धी सातबुँदे परिपत्र जारी गर्दै परस्पर परीक्षा केन्द्र राख्न नपाइने, परीक्षा केन्द्र कायम गर्दा हिमालमा १५०, पहाडमा २५०, तराई, भित्री मधेश र उपत्यकामा तीन सय जनाभन्दा कम र चार सय जनाभन्दा बढी नहुने गरी कायम गर्नुपर्ने निर्देशन दिएको छ । एसइईमा सहभागी हुने १२९ वटा विद्यालयका लागि बैतडीमा २५ वटा परीक्षा केन्द्र छन् । परीक्षाको मापदण्ड अनुसार होम सेन्टर पर्न नहुने भएपछि दुर्गमका गाउँपालिकाका विद्यार्थीलाई एक दिन पैदल हिँड्नुपर्ने अवस्था आएको छ । 

शिक्षा विकास तथा समन्वय एकाइ बैतडीको तथ्याङ्क अनुसार शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा एक/एक परीक्षा केन्द्र छन् । अर्को दुर्गम सिगास गाउँपालिकामा दुई वटा परीक्षा केन्द्र छन् । दशरथचन्द नगरपालिकामा भने पाँच वटा परीक्षा केन्द्र छन् । पुर्चौडी नगरपालिकामा चार वटा, मेलौली नगरपालिकामा तीन, डिलासैनी गाउँपालिकामा तीन, पाटन नगरपालिका, सुर्नया गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा दुई/दुई वटा परीक्षा केन्द्र छन् ।  

एउटा मात्रै एसइई परीक्षा केन्द्र रहेको पञ्चेश्वर गाउँपालिका–३, कुलाउँका विद्यार्थी मेलौली नगरपालिका–४, तिताबै परीक्षा केन्द्र धाउने गरेका छन् । तिताबैमा खान बस्न बजार नहुँदा गाउँ डुलेर डेरा खोज्नुपर्ने बाध्यता छ । त्यसै गरी एउटा मात्रै परीक्षा केन्द्र रहेको शिवनाथ गाउँपालिकाका विद्यार्थीले पनि यस्तै समस्या भोग्दै आएका छन् । दुई वटा परीक्षा केन्द्र रहेको सिगास गाउँपालिका–२ स्थित अर्जुन मावि गाँजरीका विद्यार्थीले एक दिन पैदल सिगास–८ को लेक लुपुण मावि गढ र लेकलुपुणका विद्यार्थीले गाँजरी केन्द्रमा परीक्षा दिँदै आएका छन् । लेकलुपुण परीक्षा केन्द्रनजिक खान, बस्न र बजारको समस्या हुँदा दालचामल र भाँडाकुँडा बोकेर गाउँमा डेरा खोज्नुपर्ने बाध्यता छ । 

पाँच वटा परीक्षा केन्द्र रहेको दशरथचन्द नगरपालिकामा यस्तो समस्या नभए पनि दुई वटा परीक्षा केन्द्र रहेको सिगास गाउँपालिका, एउटा मात्रै परीक्षा केन्द्र रहेका शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका विद्यार्थीले थप सास्ती भोग्नुपर्ने भएको छ । मापदण्ड अनुसार परीक्षा केन्द्र थप गर्न २५० जना परीक्षार्थी पुग्नुपर्ने शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका कार्यालय प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “परीक्षा केन्द्र थप गर्न २५० जना विद्यार्थी हुनुपर्ने मापदण्ड तोकिएको छ । बैतडीमा २५ वटा परीक्षा केन्द्र छन् । मापदण्ड अनुसार २५ वटा परीक्षा केन्द्रमा २५० का दरले छ हजार २५० विद्यार्थी हुन आउँछन् । जिल्लामा साढे पाँच हजारभन्दा बढी विद्यार्थी छैनन् । यस्तो अवस्थामा परीक्षा केन्द्र थप हुने अवस्था देखिँदैन ।” परीक्षा केन्द्र थप गर्न नसकिने भए पनि सुगम ठाउँमा परीक्षा केन्द्र कायम गर्न गाउँपालिकाका विद्यालय निरीक्षकसँग समन्वय गरिने अवस्थीले बताउनुभयो । 

विसं २०८० को एसइईमा चार हजार ८९४ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । तीमध्ये ३१.४९ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए । होम सेन्टर नराख्ने नाममा विद्यार्थीलाई अर्को विद्यालयमा पठाउनुभन्दा शिक्षकलाई सेवा सुविधा थपेर अर्को विद्यालयमा केन्द्राध्यक्ष तोक्न उपयुक्त हुने डिलासैनी गाउँपालिकाका अभिभावक आँसु मालले बताउनुभयो । उहाँले यो विषयमा आफूले मन्त्रालय र परीक्षा केन्द्रका विज्ञलाई एसइईको मूल्याङ्कन प्रणाली वैज्ञानिक बनाउन खुला पत्र लेखेको बताउनुभयो ।