• ८ माघ २०८१, मङ्गलबार

विमानस्थल सञ्चालन गर्न माग : यात्रु नपाए टिकटको पैसा बेहोर्ने

blog

परीक्षण उडानका क्रममा कमलबजार विमानस्थलमा तारा एयरको विमान । तस्बिर : शिवराज ढुङ्गाना

अछाम समाचारदाता

मङ्गलसेन, माघ ८ गते । अछामको कमलबजारको विमानस्थल सञ्चालनका लागि विभिन्न स्थानीय तहले माग गरेका छन् । सदरमुकाम मङ्गलसेनमा बसेको विभिन्न छ वटा स्थानीय तहका प्रमुखको बैठकले कमलबजारमा विमानस्थल सञ्चालन गरी हप्ताको एक दिन न्यूनतम तीन महिना विमान चलाउनका लागि आवश्यक सहयोग गर्न सहमति गरेका छन् । 

कमलबजार नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका, मङ्गलसेन नगरपालिका, ढकारी गाउँपालिका, तुर्माखाँद गाउँपालिका र रामारोशन गाउँपालिकाले नियमित विमान सञ्चालनमा सहयोगी हुने भएका हुन् । विसं २०४९ मा कमलबजार विमानस्थलको निर्माण प्रारम्भ गरिएको थियो । निर्माण सम्पन्न भएर विमान उडानको पर्खाइमा रहेको कमलबजार विमानस्थलको रिपिटर टावरमा २०५८ सालमा तत्कालीन नेकपा (माओवादी) को आक्रमणले विमानस्थल बन्द थियो । लगभग ३२ वर्षपछि गत पुस १३ गते तारा एयरको विमानले कमलबजार विमानस्थलको परीक्षण उडान गरेको थियो । 

कमलबजार विमानस्थल नियमित सञ्चालनका लागि स्थानीयस्तरमा दबाब हुँदै आएको छ । कमलबजारमा नियमित विमान चलेपछि यस क्षेत्रको यातायात, पर्यटन र आर्थिक विकासमा सहजता हुने अनुमान गरिएको छ । 

निजीस्तरको विमानलाई हप्ताको एक दिन नियमित उडानमा यात्रु अभावबापतको टिकट खर्च स्थानीय तहले बेहोर्ने सहमति गरेका हुन् । कमलबजार आउने र जाने प्रत्येक उडानका क्रममा कम यात्रु सिटको रकम स्थानीय तहले तिर्नुपर्ने छ ।

खाली भएको यात्रु सिटमध्येमा ५० प्रतिशत सिटको कमलबजार नगरपालिका र बाँकी रहेका अन्य सिटको पाँच स्थानीय तहले रकम बेहोर्ने भएका हुन् । विमान नियमित भएमा यात्रु अभाव नहुने र स्थानीय तहलाई टिकटको भार नपर्ने पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउनेको भनाइ छ । “प्लेन नियमति हुनु प¥यो यात्रुको समस्या हुँदैन भन्ने लाग्छ,” चलाउनेले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जनप्रतिनिधि, कर्मचारी, व्यापारी र अन्यले हवाईजहाजको उपयोग गर्ने भएकाले यात्रु समस्या नभएको भनाइ राख्नुभयो । कमलबजार नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले संस्कृति तथा नागरिक उड्डयनमन्त्रीसँगको समन्वयमा हवाईजहाजका निजी कम्पनीसँग सम्झौता गरेर नियमित रूपमा कम्तीमा हप्ताको एक उडान गर्ने भनाइ राख्नुभयो । 

कमलबजारबाट नेपालगन्ज उडानलाई अहिले प्राथमिकता दिइएको छ भने आवश्यकता अनुसार उडान गर्ने योजना रहेको बताइएको छ । नियमित उडानमा आशङ्का व्यक्त गरिएकोमा कमलबजार नगरप्रमुख ढकालले विमान कम्पनीसँगको सम्झौतामा कडाइका साथ कुरा राख्ने भनाइ छ ।