• ८ माघ २०८१, मङ्गलबार

स्थानीयको रोजाइमा बिरे झरना

blog

बिरे झरनामा रमाउँदै आन्तरिक पर्यटक । तस्बिर : शेरबहादुर सार्की

बाजुरा समाचारदाता

बाजुरा, माघ ८ गते । बाजुराको बिरे झरना पछिल्लो समय यहाँका स्थानीयको रोजाइमा परेको छ । साँफे–मार्तडी सडकखण्ड अन्तर्गत पर्ने बिरे झरना आफैँमा निकै मनमोहक भएका कारण यहाँका स्थानीयको रोजाइमा परेको हो ।  प्राकृतिक सौन्दर्यले समेत भरिपूर्ण रहेको यो झरनाले पछिल्लो समय यहाँका आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने गरेको छ । जिल्लावासीको एक सम्पत्तिका रूपमा रहेको बिरे झरना संरक्षण तथा प्रवर्धनको पर्खाइमा छ । 

जिल्ला सदरमुकाम मार्तडी जाने बिचबाटोमै पर्ने यो झरना साँफे–मार्तडी राजमार्गको नजिक रहेकाले जिल्ला सदरमुकाम मार्तडीमा आउने अधिकाशंले गाडी रोकेर फोटो खिच्ने र त्यसैमा रमाउने गर्छन् । केही समयअघि बडीमालिका नगरपालिकाले यो झरनाको संरक्षण तथा प्रवर्धन गर्ने कामलाई प्राथमिकता दिने भने पनि खासै संरक्षण तथा प्रवर्र्धन भने गरेको देखिँदैन । 

यसको माथिबाट बग्ने पानीको फोहराले गर्मीयाममा निकै शीतल दिने भएकाले त्यतिबेला यहाँ आन्तरिक तथा बाह्य पर्यटकको निकै चहलपहल हुने गरेको बडीमालिका नगरपालिका–६ का कृष्णबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “यसलाई थप व्यवस्थित गर्न पाएको भए यही झरनामा हेर्न र रमाउन आउनेहरूकै कारणले यहाँका स्थानीयको आर्थिक टेवा पुग्ने थियो ।” सदरमुकाम मार्तडीबाट झन्डै छ किलोमिटर हिँडेपछि सहजै पुग्न सकिने यो झरनाको लम्बाइ झन्डै दुई सय मिटरभन्दा बढी छ । यसअघि कहीँकतैबाट संरक्षण र प्रवर्धनमा पहलकदमी हुन नसकेपछि यो झरना लामो समयदेखि संरक्षणको पर्खाइमा छ ।