• १० माघ २०८१, बिहिबार

धौवादी फलाम उद्योगको काममा तीव्रता दिन निर्देशन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ८ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले धौवादी फलाम उद्योग सञ्चालनको कार्य द्रुत गतिमा अघि बढाउन निर्देशन दिनुभएको छ । 

पूर्वी नवलपरासीको हुप्सेकोटस्थित उक्त खानी उद्योग सञ्चालनका विषयमा सरकारी तथा निजी क्षेत्रका सरोकारवालासँग गरिएको अन्तर्क्रियामा मन्त्री भण्डारीले सञ्चालनका कार्य छिटोछरितो तवरले गर्नुपर्नेमा जोड दिनुभयो । धौवादी फलाम खानीको उत्खनन, प्रशोधन तथा प्रयोग वर्तमान सरकारको उच्च चासो र प्राथमिकताको विषय भएको भन्दै 

उहाँले कम्पनी सञ्चालनको काम सरकारी र निजी क्षेत्रको सहकार्यमा द्रुत गतिमा निर्माण गर्नुपर्ने बताउनुभयो । 

फलाम उद्योग सञ्चालनको विषय तेस्रो लगानी सम्मेलनका बखत प्राथमिकताका साथ उठेकोमा अहिले यसबारे भइरहेका छलफलले उपयुक्त निर्णय गर्दै फलाम उद्योग सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

सो अवसरमा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले उक्त खानी उद्योग सञ्चालन हुँदा व्यापार घाटा घट्नुका साथै अन्तर्राष्ट्रिय बजारमा फलाम निर्यात गरी आर्थिक विकास गर्न सकिने बताउनुभयो । 

करिब ५२ अर्ब बढी लागतमा निर्माण हुने उक्त फलाम कम्पनी सञ्चालन गर्न ५५ प्रतिशत सरकारी र ४५ प्रतिशत निजी क्षेत्रको लगानीका विषयमा टुङ्गो लाग्न बाँकी रहेको उहाँको भनाइ छ । अन्तर्क्रियामा प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले उद्योग सरकारको नेतृत्व र निजी क्षेत्रको सहभागितामा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । धौवादी फलाम उद्योग सञ्चालनका लागि सरकार र निजी क्षेत्रसँगै अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।

कम्पनीका कार्यकारी निर्देशक डा. जनकबहादुर चन्दले कम्पनीको लक्ष्य तथा उद्देश्य समयमै हासिल गर्न कम्पनीका भावी कार्ययोजनालाई छिटोछरितो तथा सफलतापूर्वक सञ्चालन गर्नु जरुरी रहेको बताउनुभयो । यसका लागि उपयुक्त लगानी तथा उद्योग विकासको ढाँचा, विद्यमान सेयर संरचनामा गर्नुपर्ने संशोधन आदिबारे यस्ता कार्यशाला गोष्ठीबाट थप मार्गचित्र प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभयो । 

विसं २०६८ सालमा हुप्सेकोट गाउँपालिका–५ को पोखरी, दुरुलङ्गा तथा धौवादी क्षेत्रमा फलाम खानी भेटिएको थियो । उक्त खानीको धाउ क्षेत्र करिब ४१ वर्ग किलोमिटरमा फैलिएको छ । खानीबाट २०८५ सालदेखि व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ । 

खानी सञ्चालनपछि करिब दुई हजार पाँच सय र अप्रत्यक्ष २५ हजार जनाले अप्रत्यक्ष रूपमा रोजगारी पाउने बताइएको छ भने उक्त खानीबाट दैनिक एक हजार पाँच सय टन फलाम उत्पादन हुने बताइएको छ । सरकारले २०७६ सालमा धौवादी फलाम खानी लिमिटेड गठन गरेको थियो ।