लिलाधर वली
घोराही, माघ ७ गते । दाङमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।
सोमबार बिहान घोराही उपमहानगरपालिका–१३ दारबोटे चोकमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा घोराही उपमहानगरपालिका–१७ कर्जाहीका ६५ वर्षीय निमप्रसाद चौधरीको मृत्यु भएको हो ।
घोराही उपमहानगरपालिका–१४ बसपार्कबाट घोराही उपमहानगरपालिका–१३ बराह पेट्रोल पम्पतर्फ जाँदै गरेको रा. ५ प. ५१७५ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको साइकललाई दिउँसो ठक्कर दिएको थियो ।
ठक्करले गम्भीर घाइते चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिनाले जानकारी दिनुभएको छ ।
ठक्कर दिने मोटरसाइकल चालक रोल्पा त्रिवेणी गाउँपालिका–१ निवासी बासुदेव केसीलाई नियन्त्रणमा लिएर घट्ना बारेमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक तिमिल्सिनाले जानकारी दिनुभएको छ ।