काठमाडौँ, माघ ५ गते । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुदूरपश्चिम प्रदेशमाथि सहज जित निकालेको छ ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार भएको खेलमा एपिएफले सुदूरपश्चिमलाई ५९ रनले हरायो । जितसँगै एपिएफ अपराजित रहँदै समूह ‘ए’ बाट सुपर चारमा प्रवेश गरेको छ ।
हुस्सुका कारण ढिला सुरु भएको खेल १८ ओभरमा झारिएको थियो । जितका लागि एपिएफले दिएको एक सय २७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम निर्धारित १८ ओभरमा ६ विकेटको क्षतिमा ६७मा समेटियो ।
सुदूरपश्चिमका लागि कविता कुँवरले सर्वाधिक २९ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा एपिएफकी कप्तान इन्दु बर्मा र कविता जोशीले दुई दुई तथा सवनम राईले एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित १८ ओभरमा दुई विकेटको क्षतिमा एक सय २६ रन बनाएकोे थियो । एपिएफका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ५८ रन बनाउनुभयो ।
ममता चौधरीले अविजित ३६ र कविता जोशीले अविजित १३ रन बनाउनुभयो । बलिङमा सुदूरपश्चिमकी जानकी थापाले एक विकेट लिनुभयो । हारेपनि सुदूरपश्चिम समूहको उपविजेता बन्दै सुपर चारमा पुगेको छ ।
यसैगरी शनिबारनै भएको अर्को खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ७१ रनले हरायो । जितका लागि लुम्बिनीले दिएको एक सय २७ रनको लक्ष्य पछ्याएको कर्णाली १३ ओभरमा सबै विकेटको क्षतिमा ५५ रनमा समेटिएको थियो । यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय २६ रन बनाएको थियो ।
प्रतियोगितामा एपिएफ र आर्मीसहित सात प्रदेशको सहभागिता छ । सुपर चारमा एक समूहको टोलीले अर्को समूहको टोलीसँग खेल्नेछन् । सुपर फोरपछि शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्नेछन् ।