• ५ माघ २०८१, शनिबार

‘विपद् पूर्वतयारीमा स्वास्थ्यलाई प्राथमिकतामा राखौँ’

blog

काठमाडौं, माघ ५ गते । विपद् पूर्वतयारी गर्दा स्वास्थ्यका कार्यक्रमलाई पनि सँगै अघि बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

विपद्पछि विभिन्न रोगहरु फैलिनसक्ने अवस्थालाई दृष्टिगत गरेर सरकारले विपद्का लागि पूर्वतयारी गर्दा स्वास्थ्य क्षेत्रलाई पनि सँगै अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन् । बाढी, पहिरो, भूकम्पलगायतका विपद्पछि विभिन्न खालका रोगहरु फैलिनसक्ने भएकाले समयमै ध्यान दिनुपर्ने उनीहरुको सुझाव छ ।

केही वर्षदेखि विपद्पछिको स्वास्थ्यका क्षेत्रमा काम गर्दै आउनुभएको स्टार्ट फण्ड नेपालकी कार्यक्रम व्यवस्थापक प्रमिला सुवेदीले सरकारले विपद् पूर्वतयारीमा स्वास्थ्यलाई पनिसँगै लैजानुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

विपद्का बेलामा स्वास्थ्यलाई पनि प्राथमिकता दिनसके विपद्पछि फैलिनसक्ने रोगहरुबाट हुने क्षति कम गर्न सकिने जानकारी दिनुभयो । स्टार्ट फण्ड नेपालले २०२१ देखि विभिन्न प्रकोपको पूर्वानुमानमा आधारित भइ पूर्वकार्य र प्रतिकार्य गर्दै आएको छ । जसमा स्वास्थ्य क्षेत्रमा पनि केही कामहरु गरेको उहाँको भनाइ छ ।

डेंगुपश्चातको प्रतिकार्य लगायतका विपद्पछिको स्वास्थ्यका क्षेत्रमा पनि काम गरिसकेको उहाँले बताउनुभयो । स्टार्ट नेटवर्कको फरवार्नमार्फत स्टार्ट फण्डले आयोजना गरेको कार्यक्रममा ३० वटा संस्थाबाट ४० जनाले प्रतिनिधिले भाग लिएका थिए ।

‘‘हामीले २०२१ सालदेखि काम गर्दै आएका छौँ । डिजास्टरपछि हुने हेल्थका इस्युहरुबारे हामीले काम गर्दछौँ । बाढी, पहिरो, भूकम्पपछिको स्वास्थ्यमा हामीले काम गर्दछौँ । कोल्ड वेब, हिट वेब, डेंगु लगायतमा हामीले काम गर्दै आएका छौँ ।,’’ उहाँले भन्नुभयो, ‘‘डिजास्टरको बेलामा नेपालमा हामीले विगतको अनुभवलाई हेर्दा के पायौँ भने हेल्थलाई अलिकति इग्नोर गरेको पायौँ । त्यति धेरै सँगसँगै लैजान नसकेको पायौँ । हेल्थलाई पनि प्रायोटाइज गर्नुपर्छ  भन्ने हाम्रो आग्रह हो ।’’

यता, इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्शनका कार्यकारी निर्देशक सुरज गौतमले नेपाल बहुप्रकोपिय जोखिममा रहेको भन्दै पछिल्लो समय विभिन्न प्रकोपहरु विपदमा  परिणत भइरहेको बताउनुभयो । उहाँले बाढी, पहिरोलगायतका विपद्जन्य घटनाहरुको पूर्वतयारी गर्दा स्वास्थ्यको तयारी पनि गर्नुपर्ने बताउनुभयो । उहाँले विपद्पछि फैलिनसक्ने रोगहरुको न्यूनीकरण गर्न स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको अवस्था हेर्ने हो भने नेपालमा बहुप्रकोपीय जोखिम छ । पछिल्लो समय विभिन्न किसिमका प्रकोप विपदमा परिणत भइरहेको छ । यसै वर्ष मात्रै आरिघोप्टे वर्षातदेखि लिएर काठमाडौंदेखि नेपालभर नै बाढी आयो । समग्र विपदमा बाढी, पहिरो मात्रै नभ त्यससँग र स्वास्थ्यसँग सम्बन्धित रहने विशेष विभिन्न प्रकारका रोगदेखि लिएर अन्य पाटोमा अझ बढी काम गर्नुपर्ने आवश्यकता देखिएको छ । विपद् आइसकेपछि काम गर्नुभन्दा पनि पूर्वतयारी राम्रोसँग गरे यस्ता जोखिम घटाउन सक्छौँ ।’’

कार्यकारी निर्देशक गौतमले जलवायु परिवर्तनका कारण तराईमा मात्रै सिमित हुने रोगहरु विस्तारै पहाड र हिमालतिर पुगिरहेको अवस्थालाई विचार गरेर सरकारले आफ्ना योजनाहरु अघि बढाउन जरुरी रहेको बताउनुभयो । विपदका तयारी गर्दा स्वास्थ्यलाई पनि सँगै जोडेर लैजानसके रोगबाट नागरिकलाई सुरक्षित राख्न सकिने उल्लेख गर्नुभयो ।

‘‘राष्ट्रिय आपत्कालीन केन्द्रहरुमा पनि यो चिजहरुको इन्टिग्रेसन हुन आवश्यक छ । विभिन्न प्रकारका ५२ रोगहरुको बारेमा हामीले हाजार्ड प्रायोटाइजेशन गरिसकेका छौँ भने यस्ता प्रकारका रोगहरु विपद्पछि कसरी हुनसक्छ । यस्ता किसिमका रोगका लागि पूर्वतयारी कसरी गर्नुपर्छ भन्ने सन्दर्भमा यो कार्यशालामा जानकारी प्राप्त गरेका छौँ ।,’’ उहाँले भन्नुभयो, ‘‘विपद्का तयारी गर्दा स्वास्थ्यलाई पनि सँगै जोडेर लैजानुपर्छ । विभिन्न प्रकारका रोगहरु केही स्थानमा मात्रै सीमित हुन्थे भने अहिले देशभर नै डेंगुलगायतका रोगहरुको सङ्क्रमण हुन थालेको छ । जलवायु परिवर्तनसँग सम्बन्धित रहेर यी रोगहरु फैलिरहेको छ ।’’