बाटोवारि यादव, झा र कायस्थहरूको बस्ती छ, बाटोपारि चमारहरूको । अलिकति फरक छ । चमारहरूको बस्ती उत्तरपट्टि । ‘उँचा जात’ को बस्ती अलि दक्षिणपट्टि । खानेपानी साझा नभए पनि आकाशबाट झर्ने पानी साझा छ । आत्मसम्मान साझा नभए पनि आकाशको घाम र बस्तीमा बहने हावा साझा छ । सामाजिक हैसियत साझा नभए पनि हिँड्ने बाटो साझा छ ।
हिजोसम्म केही नभएको किसनलाल यादवको दुहुनो भैँसी बिहान एक्कासि मर्यो । किसनलालको छोरो रतनलाल रघुराम चमारलाई बोलाउन गयो । रघुराम चमारले भन्यो, “ना बाबा ना ! अब म सिनो उठाउन
नजाने ! गयो भने मेहरारुले गाली दिन्छ ।”
“तिमी नगए छोरोलाई पठाइदेऊ न त !”
रतनलालले भन्यो ।
“ना बाबा ! उल्लाई पनि उसको मेहरारुले गाली दिन्छ । जाँदैन ।”
“स्वास्नीसँग डराउने, कस्ता नामर्द ! बढी कुरा नगर । खुरुक्क हिँड ।”
“ना बाबा ! हामी नजाने !”
“तिमीहरू नगए को जान्छ त ? तिम्रो मरेको बाउ जान्छ ? चमारले सिनो नउठाए कसले उठाउँछ ?”
“ना बाबा ! हामीलाई गाली नदिनुस् । अब आफ्नो सिनो आफैँ उठाउनुस् ।”
रतनलाल रघुरामको परिवारलाई नानाभाँती गाली गर्दै त्यहाँबाट हिँड्यो ।
जुत्ता सिउँदै गरेको चुनिराम चमारलाई भन्दा उसले पनि रघुरामकै बोली यथावत् दोहोर्यायो । सबै चमार एकमुख भएको देख्दा रतनलालको पारो तात्यो ।
“खुरुक्क हिँड्छस् कि मैले कारबाही गर्नु पर्यो ?”
“जे सक्नुहुन्छ गर्नुस् तर हामी नजाने भनेपछि एक नजाने, दुई नजाने, तीन नजाने ।”
रतनलालले बाबु सरहको चुनिरामलाई गालामा एक थप्पड लगायो । चुनिरामले हात फर्काएन तर कुनै पनि हालतमा, नजाने, मारे पनि, काटे पनि नजाने रटान दिन छाडेन । रतनलालले चुनिराममाथि हात र लात बराबर बर्र्साउन थाल्यो । चुनिरामको छोरो सदाराम भित्रबाट यामानको खुकुरी बोकेर आयो ।
“मा कसम ! फेरि पनि मेरो बाउलाई हात हाल्यो भने यही खुकुरीले दुई टुक्रा पारिदिन्छु” भन्दै खुकुरी उज्यायो । सदाराम र रतनलालको आँखा आँखाको लडाइँ चल्यो । गहिरो घृणा प्रकट गर्दै थुक्क गर्दै औँला ठड्याउँदै रतनलाल हिँड्यो ।
चुनिरामले छोरोलाई गाली गर्यो । खुकुरी भित्र राख्न अह्रायो । “पर्यो भने अब टुक्रयाइदिने हो । मा कसम ! सधैँ अत्याचार सहेर बस्ने होइन,” भुतभुताउँदै सदाराम भित्र पस्यो । बाटो माथिबाट एकैछिनमा रतनलाल पाँच जना ठिटा लिएर चुनिरामको घर आइपुग्यो । चुनिराम जुत्ताको सोल काट्न यसरी व्यस्त थियो मानौँ एक छिनअघि यहाँ केही भएकै थिएन ।
“खोइ कहाँ छ, तेरो छोकरा निकाल् । मलाई खुकुरी ताक्ने ? दुई टुक्रा पार्छु भन्ने ? कसले दुई टुक्रा पार्दो रहेछ हेरौँ । निकाल् त्यसलाई !” रतनलालले खुकुरी देखाउँदै भन्यो । “ना बाबा ! किन दगाबात गर्नुहुन्छ ? मैले उसलाई गाली दिइसकेँ । अब सकियो त !” चुनिरामले भन्यो ।
“तैँले सकियो भन्दैमा सकिन्छ ? सिनो उठाउन आऊ भन्दा नउठाउने तिमीहरू ! अनि मलाई खुकुरी ताक्ने पनि तिमीहरू ? यी चमारहरूले के खोजेको ! अब म देखाउँछु । निकालिहाल् तेरो छोकरालाई !” एकैछिनमा चुनिरामको आँगनभरि चमार युवा भेला भए । चमारहरू कसैले, कुनै पनि हालतमा सिनो नउठाउने चेतावनी दिए । ठुलै दगाबात हुने छाँट देखियो । धन्न चुनिरामले केटाहरूलाई सम्झायो । रतनलाल आफ्ना साथीहरूसँग यसपालि पनि लुरुक्क परेर जान बाध्य भयो ।
“छोटो बढ्यो भने अनिष्ट हुन्छ भन्छन् । केही न केही अनिष्ट त यो गाउँमा हुन्छ, हुन्छ !” उँचो जातका वृद्धहरू भन्न थाले । चमारहरूले सिनो नउठाउने भएपछि फसाद पर्यो । गाई दुहुन जानसमेत अप्ठ्यारो भयो । त्यो साँझ रतनलालले गाई नदुहीकन सबै दुध बाच्छालाई नै खुवाइदियो । तर, सिनो गोठमै राखेर त भएन । भोलिदेखि त गन्हाउनै थाल्छ ।
भोलिपल्ट रतनलालले साथीहरू जम्मा गरेर जसोतसो सिनो बाहिर आँगनमा निकाल्यो । दुहुनो भैँसी मरेकामा रतनलालकी आमाले दुईचार थोपा आँसु चुहाई । किसनलालले एकछिन उदास नजरले भैँसीलाई हेरिह्यो र भित्र गयो ।
अब के गर्ने ? फसाद पर्यो । यता दुहुनो भैँसी मरेर यत्रो घाटा हुनु ! उता चमारहरूले हेप्नु र अपमान गर्नु ! रतनलाललाई औडाहा भयो । रतनलालकी आमा पुतलीदेवीले पर पैनीनजिकै बारीमा लगेर गाडिदिनू भनी ।
रतनलालका साथीहरूले भने, “हैन । यो सिनो चमारहरूको चोकमा लगेर छाडिदिनु पर्छ । गन्धले बसिटिक्नु नभएपछि सिनो नउठाएर मैमत्त भएको फल बल्ल तिनीहरूले पाउँछन् ।”
सहमति, अझ सर्वसम्मति यस्तै कुरामा हुने हो । तत्काल युवाहरूले सिनो घिसारेर बाटोनिर पुर्याइहाले । घरर घिसार्दा भैँसीको भुँडी फुट्यो । आन्द्राभुँडी निस्कियो तर उनीहरूले त्यही रफ्तारमा घिसार्न छाडेनन् । तिनले चमार केटाहरू जम्मा भएर गफ गरिरहेको चोकमा सिनो छाडिदिए । चमार केटाहरू वाल्ल परेर हेरिरहे । तिनले कुनै प्रतिक्रिया जनाएनन् । उटुङ्ग्याहा यादव युवाहरूले कताबाट खोजेर एउटा मरेको कुकुर र दुइटा कुहिएका कुखुरा पनि भैँसीनजिकै चोकमा फालिदिए ।
चमारहरूसँग यादवहरूको झडप परेको खबर वरिपरिका गाउँसम्म पुग्यो ।
दोस्रो दिनदेखि सिनो गनाउन थालिहाल्यो । वरिपरि गाउँका मानिस त्यो बाटो हिँड्नै छाडे । कसैले प्रहरीलाई खबर गरिदियो । रिपोर्ट गर्नेलाई आउने आश्वासन दिए पनि प्रहरी आएन । माथिबाट ठुलै दबाब नपुगी सिनो गनाएर बसिटिक्न नसकिने गाउँमा प्रहरी त्यसै जानेवाला थिएन ।
सिनोको गन्ध सहिनसक्नु थियो तर चमारहरू प्रतिक्रियाविहीन थिए । यति हो, उनीहरू चोकमा भेला हुन छाडिदिए । उनीहरूको दिनचर्यामा भने कुनै खलल परेको देखिएन । सबै आआफ्ना काम निरन्तर गरिरहेका थिए । यस्तो लाग्थ्यो, सिनोको गन्धले उनीहरूलाई कुनै असर पारेको थिएन । थोरै टाढा भए पनि, सिनो नै नगनाउने गरी यादव, ब्राह्मण र कायस्थहरूको बस्ती त्यति टाढा पनि थिएन । त्यता त आतङ्क मच्चिरहेको थियो । गन्ध फैलिएदेखि न कसैले खाना खान सक्थ्यो, न कोही सुत्न सक्थ्यो । स्वयं रतनलालकी आमा गन्धले टाउको समाएर बसिरहेकी थिई । बिस्तारै उसलाई सास फेर्न गाह्रो भइरहेको थियो । उसले आफ्नै छोरो र उसका साथीहरूलाई सत्तोसराप गरी । किनभने उसले त पैनीनजिकै मकैबारीमा लगेर गाडिदिनु भनेकी थिई । छोरो र उसका हुल्याहा साथीहरूले गर्दा वातावरण नै यस्तो दुर्गन्धित हुन पुगेको थियो ।
चमारहरूले सिनो नउठाउँदा बस्ती नै दुर्गन्धित भएको भनी यादवहरूले फेरि प्रहरीकहाँ रिपोर्ट गरिदिए । प्रहरी फेरि पनि आएन । यस्तो कुरामा फस्नु प्रहरीले मनासिब ठानेन । रिपोर्ट गर्नेलाई प्रहरीले वडाध्यक्ष बोलाएर समाधान गर्नु भन्ने सुझाव दियो । वडाध्यक्ष स्वयं पनि त्यो दुर्गन्धित ठाउँमा जान चाहेन । उसले एक, दुई जना चमारलाई आफ्नै कार्यालयमा बोलाएर दगाबात नगरी सिनो मिल्काउनु भनेर आदेश दियो ।
वडाध्यक्षलाई पनि उनीहरूले उही जवाफ दिए, “ना बाबा ! त्यो सिनो हामीले फालेको होइन । अनि यो चोकमा ल्याएर फालिदिएको उनीहरूले नै हो । हामी यो सिनो उठाउँदै नउठाउने । आफ्नो डिँगाको सिनो उनीहरू आफैँले उठाउनु पर्छ ।” चमारहरू आदेशको अवज्ञा गर्ने सूचना दिएर हिँडे । वडाध्यक्षले पनि फेरि फेरि चासो दिनु आवश्यक ठानेन ।
रतनलालकी आमालाई त हुनुसम्म भएको थियो । स्वयं रतनलाललाई नै गन्ध अब असह्य भइसकेको थियो । सबभन्दा बढी त खाना खाने बेला गन्ध कसरी नाकबाट छिथ्र्यो भने आन्द्रै बटारिएर खाएको कुरा बाहिर निस्कन थालिहाल्थ्यो ।
नवौँ दिन साँझसम्म भैँसी, कुखुरा र कुकुरको सिनो चमार चोकमै थियो । दसौँ दिनको बिहान त्यहाँबाट एक्कासि सिनो हटेको पाइयो । सिनो फालिएको ठाउँमा केही दाग भने अझै देखिन्थे । थोरै दुर्गन्ध त्यहाँबाट अझै पनि फैलिरहेकै थियो ।
आफ्नो चोकमा सिनो फालिँदा पनि चमारहरू बिलकुल प्रतिक्रियाविहीन थिए । अहिले हटाइँदा पनि उस्तै प्रतिक्रियाविहीन देखिए ।