• १४ माघ २०८१, सोमबार

पाताल भूमेश्वरको तलाउ सङ्कटमा

blog

पाताल भूमेश्वर गुफामाथि घट्दो क्रममा रहेको पानीको तलाउ । तस्बिर : गोकर्ण दयाल

गोकर्ण दयाल  

बैतडी, माघ ३ गते । नेपालकै लामो र गहिरो दाबी गरिएको पाताल भूमेश्वरर गुफासँगै रहेको तलाउको पानी बर्सेनी घट्दै जान थालेपछि तलाउको अस्तित्व सङ्कटमा परेको छ । गुफाको विस्तृत अध्ययन हुन सकेको छैन । यहाँ शिवरात्री र साउने सङ्क्रान्तिमा विशेष पूजाआजा लाग्ने गर्दछ । गुफामाथि रहेको तलाउ पाताल भूमेश्वरको मुख्य आकर्षण हो ।   

इन्टरनेशनल सेन्टर फर दि एक्सप्लोरेसन अफ दि हिमालयजका अध्यक्ष तथा फ्रान्सेली गुफा विशेषज्ञ मोरिस दुसेन र उनको टिमले २०७१ सालमा आफ्नै प्राविधिक पहलमा गुफाको आठसय मिटरसम्म भित्र पसी नेपालकै लामो गुफा दाबी गर्नुभएको थियो । गुफाको लम्बाइ अझै धेरै हुनसक्ने भएपनि त्यसपछि कुनै अनुसन्धान हुन सकेको छैन । गुफासँगै रहेको तलाउको संरक्षण हुन सकेको छैन । 

पाटन नगरपालिका र सुर्नया गाउँपालिकाको सीमा क्षेत्रमा गुफा र तलाउ छ । यो तलाउको पानी गुफाको पूजामा प्रयोग हुनुको साथै जङ्गली जनावर र चरिचरनका लागि छाडिएका घरपालुवाले तिर्खा मेट्ने गरेका छन् । 

तलाउको संरक्षण नहुँदा पानी घट्दै र धमिलो हुँदै गएको स्थानीय धार्मिक अगुवा ज्योतिष पंं. गणेशप्रसाद पन्तले बताउनुभयो । तलाउ संरक्षणमा ध्यान नदिने हो भने यही मात्रामा पानी घट्दै गए एक दिन तलाउ सुक्न सक्ने चिन्ता उहाँले व्यक्त गर्नुभयो । 

गुफामो धार्मिक विशेषता बताउँदै उहाँले भन्नुभयो, “महादेवले सतीदेवीको मृत शरीर घुमाउँदै हिड्दा यस स्थानमा सतीदेवीको पैताला खसेकोले यसको नाम पाताल भूमेश्वर रहेको किंबदन्ती पाइन्छ । पाताल भूमेश्वर गुफा कैलाशपर्वतसम्म रहेको धार्मिक विश्वास छ । प्राचीनकालमा यसभित्र ३३ करोड देवगणले बास गर्ने, बैठक गर्ने तथा पाण्डवहरुले पनि बास बसेको वर्णन ‘स्कन्दपुराण’ को मानस खण्डमा गरिएको छ ।”

त्रेतायुगमा अयोध्याका राजा ऋतुवर्णले यो गुफा पत्ता लगाएको जनविश्सास छ । यो गुफाको द्वार सानो भए पनि भित्र पस्दा फैलिएको छ । धार्मिक अगुवा ज्योतिष पं. पन्तले यो तलाउमा पानी खान गएका भैंसीहरु गुफाभित्र छिरेर सुर्नया नदीमा फेला परेको किवदन्ती रहेको बताउनुभयो । आजभन्दा तीन दशक अघि यो तलाउ पानीले भरिभराउ भएर बग्थ्याे, अहिले सुक्ने अवस्थामा आएपछि स्थानीयले चिन्ता व्यक्त गर्न थालेका छन् । 

तत्कालीन जिल्ला विकास समितिले तलाउमा घेरा पर्खाल लगाउने काम गरे पनि अहिले अधिकांश ठाउँमा पर्खाल छैन । गुफाभित्र ५० मिटरसम्म विद्युतीकरण गरिएको  थियो । बिजुलीका तारसमेत चोरी भएपछि अहिले गुफाभित्र अँध्यारो छ । वस्तुभाउ सिधै तलाउमा पसेर पानी खान जाने गरेका छन् । तलाउ वरिपरि वृक्षरोपण गरेर तलाउ संरक्षणमा स्थानीय तहले ध्यान दिनुपर्ने सरोकारवालाको भनाइ छ । 

गुफा र तलाउसम्म जानका लागि प्रदेश सरकार, स्थानीय तह, धार्मिक अगुवाको पहलमा पदमार्ग निर्माण गरिए पनि तलाउको पानी घट्न नदिने उपाय निकाल्न सकेका छैनन् । गुफाको विस्तृत अध्ययन हुन नसक्दा यसको महत्व ओझेलमा परेको छ ।  

गुफा र तलाउको दर्शन गर्न सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट पाँच घण्टा गाडीको यात्रापछि यो गुफा नजिक पुग्न सकिन्छ । दशरथचन्द मार्गको बैतडीको सिउँडेबाट १५ मिनेटको दूरीमा पाताल भूमेश्वर गुफा र पानीको तलाउ छ ।