• २ माघ २०८१, बुधबार

चिनियाँ नागरिकको अपहरण आरोपमा चार भारतीय पक्राउ

blog

राममणि दाहाल

हेटौँडा, माघ २ गते । मकवानपुरको भीमफेदीबाट प्रहरीले चिनियाँ नागरिक अपहरणको आरोपमा चार जना भारतीय नागरिक नियन्त्रणमा परेका छन् । काठमाडौँबाट मङ्गलबार चिनियाँ नागरिक अपहरण गर्ने कार्यमा संलग्न भएको अभियोगमा भिमफेदी गाउँपालिका –६ स्थित जुरिखेतबाट भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । 

नेपाल प्रहरी प्रधान कार्यालय परिचालन कक्षबाट मङ्गलबार दिउँसो १५ः३० बजेको समयमा काठमाडौँबाट एमएच १६ डिजी ४९०४ नम्बरको भारतीय गाडीमा चिनियाँ नागरिकलाई  अपहरण गरी हेटौँडातर्फ लैजादँै गरेको जानकारी आएपछि इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक ललिता ढकाल नेतृत्वको टोलीले हेटौँडा–भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा जाँच तथा खोजतलाश गर्नेक्रममा सो गाडीसहित चार जनालाई जुरिखेतबाट नियन्त्रणमा लिएको थियो । 

पक्राउ पर्नेमा भारत महाराष्ट्र राज्य सतरा जिल्लाका वर्ष ३२ का आशुतोष दत्तात्रेय, महाराष्ट्र राज्य सतरा जिल्ला हमद नगरका वर्ष ३० का अमोल करमाटे, महाराष्ट्रका वर्ष ४० का अफसर सेख र वर्ष ३३ का अमोल श्रीसत रहेका छन् । 

प्रहरी निरीक्षक ढकालले चिनियाँ नागरिक अपहरणमा परेको जानकारी प्राप्त भएपछि सुरक्षा जाँच कडाइ गरिएकोमा उक्त अपहरणकारी इलाका प्रहरी कार्यालयतर्फ आइपुग्नु अगावै गाडीसहित भित्री सडकबाट दुई जनालाई र त्यहाँबाट पनि फरार भएका दुई जनालाई पछि नियन्त्रणमा लिएको प्रहरी निरीक्षक ढकालले बताउनुभयो । 

उहाँका अनुसार अपहरणमा पर्ने र अपहरण गर्ने समूह अपराधमा संलग्न रहेको बुझिएको छ । चिनियाँ नागरिकले अवैध खेल खेलाएर ठगी गरेको भन्दै भारतीय नागरिकले उनलाई गाडीमा राखेर काठमाडौँको एक होटलबाट अपहरण गरेको जनाइएको छ । 

एमएच १६ डिजी ४९०४ नम्बरको भारतीय गाडी र उक्त गाडीमा सवार चारै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिआएको प्रहरी टोलीको जिम्मा लगाएको छ ।