• २ माघ २०८१, बुधबार

थारु समुदायमा भलमनसा चयन सुरु

blog

टेढुवा गाउँमा भलमनसा चयन गरिँदै । तस्बिर : सामाजिक सञ्जाल

अविनाश चौधरी

धनगढी, माघ २ गते । माघ (माघी) पर्व सकिएसँगै थारु गाउँमा भलमनसा चयनको काम आजबाट थालिएको छ । गाउँको नेतृत्व गर्नका लागि सो समुदायका मानिसले भलमनसा चयन गर्न थालेका हुन्। 

भलमनसाले विकास निर्माणदेखि लिएर गाउँवासीको सुखदुख, भोजभतेरमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने गर्दछन् । भलमनसाको पदावधि एक वर्षको रहने गर्दछ । 

आजबाट सुरु भएको भलमनसा चयनको काम यो महिनाभरि हुने धनगढी उपमहानगरपालिका–५ जाइँ गाउँका भलमनसा कुलवीर चौधरीले बताउनुभयो । उहाँको गाउँमा आजै भलमनसा चयनको काम भएको छ । यसअघिसमेत भलमनसा रहनुभएका चौधरीलाई यसवर्ष फेरि गाउँवासीले भलमनसा बनाएका छन् ।  

गाउँभरिका किसान सहभागी भुरा खेल (भेला) बाट भलमनसा चयन गर्ने गरिन्छ । भलमनसासहित गाउँमा जिम्मेवारी अनुसार काम गर्नका लागि घरिया, चिरक्या (चौकीदार), सचिव र लोहार चयन गर्ने चलन छ ।