कावासोती समाचारदाता
कावासोती, माघ १ गते । नवलपुरका किसान व्यावसायिक रूपमा कुरिलो खेतीतर्फ आर्कषित हुन थालेका छन् । कम लगानीमा राम्रो आम्दानी हुने भएपछि यो पेसाप्रति आकर्षण बढेको हो । जिल्लाको मध्यविन्दु र कावासोती नगरपालिकामा करिब २४ बिघा क्षेत्रफलमा कुरिलो खेती गरिएको छ ।
नवलपुरको मध्यविन्दु–३, ब्रह्मस्थानमा पदम मोक्तानले व्यावसायिक कुरिलो खेती सुरु गर्नुभएको छ । जन्म थलो सर्लाही र कर्मघर काठमाडौँ भए पनि मोक्तानले नवलपुर आई जग्गा भाडामा लिएर लोट्स कृषि तथा पशु फार्म दर्ता गरी तरकारी खेती गर्दै आउनुभएको छ । विगत पाँच वर्षदेखि उहाँले कृषि पेसामा तल्लीन भएर लाग्नुभएको छ । उहाँलाई अचेल कुरिलो रोप्न भ्याइनभ्याई छ । मङ्सिरबाट सुरु भई पुससम्म बिरुवा रोप्ने मोक्तानले बताउनुभयो ।
पछिल्लो समय नवलपुरलाई कुरिलो खेतीको हब बनाउने सोचमा मोक्तान त्यसतर्फ लाग्नुभएको हो । उहाँले भन्नुभयो, “मध्यविन्दु–३ मा तीन वर्षअघिबाट कुरिलो खेती सुरु भएको हो । गाउँमा नै पहिलो पटक गर्दा के होला भन्ने लागेको थियो । अहिले यसबाट राम्रो आम्दानी भयो । कुरिलोको बिरुवा आफैँले उत्पादन गरेका छौँ । दुई हजार बिरुवासमेत बिक्री भइसकेका छन् । धेरै किसान कुरिलो खेतीमा लागेका छन् ।”
सुरुमा डेढ बिघा जग्गामा कुरिलो खेती गरेका मोक्तानले क्षेत्र विस्तार गरी अहिले पाँच बिघामा कुरिलो खेती गरेको बताउनुहुन्छ । बिरुवा रोपेको चार–पाँच महिनामा तयार हुने कुरिलो खेतीमा दिनदिनै टुसा पलाउने हुँदा यसबाट राम्रो आम्दानी हुने कृषक मोक्तानको भनाइ छ । प्रतिकेजी पाँचदेखि छ सय रुपियाँसम्ममा बिक्री हुने गरे पनि उहाँले चार सय रुपियाँमा बिक्री गर्दै आउनुभएको छ । गत वर्ष कुरिलो बिक्रीबाट मात्र १६ लाख रुपियाँ आम्दानी भएको उहाँले बताउनुभयो ।
अर्का किसान रामलाल पुरीले कावासोती–१७ र मध्यविन्दु–३ मा गरी पाँच बिघा क्षेत्रफलमा कुरिलो खेती गरेको बताउनुभयो । स्थानीय बजारसँगै बाह्य क्षेत्रबाट समेत माग आउन थालेपछि कुरिलो खेती गरेको पुरीले बताउनुभयो । कुरिलो स्वास्थ्यका लागि पनि राम्रो मानिने औषधीय गुण भएको र यसमा धेरै विषादीको पनि प्रयोग गर्न नपर्ने हुँदा नियमित रूपमा कुरिलो सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक रहेको उहाँ बताउनुहुन्छ ।
अन्य खेतीमा भन्दा भौगोलिक वातावरण तथा माटोको हिसाबले कुरिलो खेती उपयुक्त हुन्छ भन्दै अहिले यस खेतीतर्फ किसानको आकर्षण बढ्न थालेको कृषि ज्ञान केन्द्रले जनाएको छ । कुरिलो अन्य तरकारीको तुलनामा केही महँगो छ तर यसको फाइदा पनि धेरै रहेकाले कुरिलो खेती विस्तारमा लागेको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ ।