काठमाडौं, पुस २९ गते । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले मिथ्या सूचना दिनेलाई कानुनी दायरामा ल्याउने गरी सामाजिक सञ्जाल नियमन गर्ने विधेयक ल्याउनुपर्ने बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । पछिल्लो समय सिङ्गो नेपाली समाज नै मिस इन्फरमेसन र डिसइन्फरमेसनबाट आक्रान्त बनेको बताउनुभयो ।
प्रमुख सचेतक बर्तौलाले मिथ्या र भ्रामक सूचना संप्रेषण गर्नेलाई कानुनी दायरामा ल्याउन जरुरी रहेको उल्लेख गर्नुभयो । अरोप लगाउने तर त्यसको पुष्टि नहुने कुराले समाजलाई विभाजित बनाइरहेको बताउनुभयो ।
प्रमुख सचेतक बर्तौलाले आम सञ्चार विधेयक अहिले ड्राफ्टको अन्तिम चरणमा रहेको भन्दै विधेयक चाँडो ल्याउन माग गर्नुभयो ।