काठमाडौं, पुस २९ गते । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार सम्पन्न भएको साधारण सभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्ताव पारित गरेको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारण सभामा अध्यक्ष ढुङ्गानाले बैंकले आफ्ना सेवा सुविधाहरूमा समयसापेक्ष परिमार्जन गर्दै प्रविधिमा आधारित विभिन्न सेवाको माध्यमबाट ग्राहक समक्ष आफ्ना गुणस्तरीय सेवाहरू प्रवाह गर्नुपर्ने आवश्यकतालाई प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको बताउनुभयो ।
उहाँले बैंकिङ् क्षेत्रमा विद्यमान प्रतिस्पर्धाको सामना गर्न बैंकले आफ्नो प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्दै समय सान्दर्भिक कार्य पद्धतिको विकास गर्ने उद्देश्यले बैंकका आन्तरिक नीति, नियम, निर्देशिका तथा कार्यविधिहरूमा समयसापेक्ष परिमार्जन गर्दै आएको छ । बैंकले संस्थागत सुशासनलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।
साधारण सभामा बैंकका शेयरधनीहरू क्रमशः नेपाल सरकार अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, र्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रतिनिधि तथा सर्वसाधारण शेयरधनीहरूको उपस्थिति थियो ।
अध्यक्ष ढुङ्गानाले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि शेयरधनीहरूले टिप्पणी गर्नुका साथै बैंक सुधारको निमित्त विभिन्न सुझावसहितको धारण राख्नुभएको थियो । उक्त टिप्पणी एवम् जिज्ञासा बारे बैंक सञ्चालक समितिका अध्यक्ष ढुङ्गानाले जवाफ दिनुभएको थियो ।
उक्त साधारण सभामा बैंक सञ्चालक समितिका सदस्यहरू महेश भट्टराई, सुशिल घिमिरे, प्रा.डा.रामप्रसाद ज्ञवाली, स्वतन्त्र सञ्चालक लक्ष्मण घिमिरे तथा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, नायब प्रमुख कार्यकारी अधिकृतहरू सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, उपकार्यकारी अधिकृतहरू विमल डङ्गोल, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गाकुमारी कँडेल, रामकुमार थापाको उपस्थिति थियो । साधारण सभामा बाह्य लेखापरीक्षकहरू, बैंकका कानुनी सल्लाहकारलगायतका अतिथिहरुको उपस्थिति थियो । साधारण सभालाई कम्पनी सचिव प्रमोद अधिकारीले सहजीकरण गर्नु भएको थियो ।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममासहित २९४ वटा शाखा कार्यालय, ७२ वटा एक्सटेन्सन काउन्टर, ३१२ वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङ् छ ।