बाजुरा समाचारदाता
बाजुरा, पुस २८ गते । बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाले यहाँका दुर्गम गाउँबस्तीमा सडक विस्तार गर्दै आएको छ । जिल्लाको विकट क्षेत्रमा पर्ने यो पालिकामा सात वडा छन् । यहाँका ४, ५, ६ र ७ वडा गत वर्षबाटै सडक सञ्जालको पहुँचमा रहँदै आएका छन् । यहाँका १, २ र ३ वडा निकै विकट क्षेत्रमा पर्ने भएकाले यी वडामा भने सडक पुग्न सकेको छैन । यी वडालाई पनि सडक सञ्जालले जोड्ने गरी अहिले पालिकाले धमाधम सडक विस्तार गर्दै आएको हिमाली गाउँपालिकाले जनाएको छ ।
बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने यो पालिका बाजुराको एक विकट क्षेत्रमा पर्छ । यो पालिकामा सडक विस्तार गर्न निकै कठिन छ । पालिकाले निकै प्रयास गरेर विगतका वर्षमा यहाँका ४, ५, ६ र ७ वडामा सडक पुर्याउने काम गरे पनि तीन वटा वडामा भने अझै सडक जोड्न बाँकी छ । पालिकाले यो वर्षदेखि ती वडालाई पनि सडक सञ्जालको पहुँचमा राख्ने गरी सडक विस्तार गर्ने काम गरिरहेको हो । यो ठाउँमा सडक निर्माण गर्नु भनेको पालिकाको क्षमताभन्दा बाहिर छ । यहाँका गाउँबस्तीमा सडक विस्तार गर्न अहिले प्रदेश, सङ्घीय कुनै सरकारबाट बजेट आएको छैन । पालिकाले यहाँका स्थानीयको दैनिक उपभोग्य सामग्री ढुवानी गर्न तथा आउजाउमा सहजताका लागि यहाँका प्रत्येक गाउँबस्तीमा सडक जोड्ने काम तीव्र पारिएको छ ।
यहाँका ४, ५, ६ र ७ वडामा गत वर्ष नै गाडी गुड्न थालेका छन् । यहाँ पहिला यातायातको सुविधा नहुँदा स्थानीयलाई हिमाली गाउँपालिकाको धुलाचौर पुग्न एक दिनभन्दा बढी लाग्थ्यो । अहिले यहाँका स्थानीय घरदेखि गाउँपालिकासम्म दुई/तीन घण्टामा पुग्ने गर्छन् । यो सुविधा अन्य वडावासीलाई पनि दिने भनी पछिल्लो समय पालिकाले प्रत्येक गाउँबस्तीमा सडक विस्तार गर्दै आएको हिमाली गाउँपालिकाका प्राविधिक जनकबहादुर रोकायाले बताउनुभयो ।