बडीमालिका/मार्तडी समाचारदाता
मार्तडी (बाजुरा), पुस २८ गते । बाजुराको मार्तडी–कोल्टी सडकखण्ड शिलान्यास भएको २५ वर्षपछि कोल्टीमा बस सेवा सञ्चालनमा आएको छ । दुर्गम क्षेत्र कोल्टीमा पहिलो पटक बस पुगेपछि यहाँका स्थानीय निकै खुसी भएका छन् ।
मार्तडीबाट ४२ किलोमिटरको दुरीमा रहेको कोल्टीमा बस पुगेपछि अब सहज रूपमा सर्वसाधारणले यात्रा गर्न पाउने विश्वास बुढीनन्दा नगरपालिका प्रमुख जनककुमार बोहराले बताउनुभयो । उहाँका अनुसार शुक्रबार महाकाली यातायात प्रालिद्वारा सञ्चालित तीन वटा बस कोल्टी पुगेका हुन् ।
आफूहरूको लामो समयको प्रयासपछि कोल्टीमा बस सेवा सञ्चालन भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका नागरिकले बस चढ्न त परै जावस्, बस देख्नसम्म पाएका थिएनन् । कोल्टीमा बस देख्दा सर्वसाधारण खुसी भएका छन् ।”
मार्तडी–कोल्टी सडकका बाउली र बुढीनन्दाको दानसाँघुमा पुल नहुँदा बर्सातका बेला भने बस चल्न कठिनाइ हुने भएको छ । पुल बनाउनेतर्फ ध्यान दिनुपर्ने स्थानीयको भनाइ छ । कोल्टीमा बस पुगेपछि स्थानीयले बाजागाजासहित बसका चालकसहितका कर्मचारी र यात्रुको स्वागत गरेका थिए ।
कोल्टीमा बस पुगेपछि बाजुराका बुढीनन्दा, हिमाली, स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकाका बासिन्दालाई सदरमुकाम मार्तडी र अन्य जिल्ला आउनजान सहज हुने भएको छ । यस्तै गरेर मुगु र हुम्लाका १३ पालिकाका बासिन्दालाई समेत कोल्टी, मार्तडी हुँदै धनगढी, नेपालगन्ज र काठमाडौँ पुग्न सजिलो हुने छ ।
यसअघि ४२ किलोमिटरको दुरीमा चल्ने जिपमा एक हजार रुपियाँ भाडा तिर्ने बाध्यतामा रहेका सर्वसाधारणले अब पाँच सय रुपियाँमै यात्रा गर्न पाउने भएका छन् ।