• २८ पुस २०८१, आइतबार

महँगीको चापमा उपभोक्ता

blog

यता केही महिनादेखि नेपाली उपभोक्ताले महँगीको अनुभव गरिरहेका थिए । खास गरी गएको भदौ/असोजदेखि नै उपभोक्ताको भान्सा महँगो हुँदै गएको देखिएको थियो । त्यतिबेला आउने कतिपय तथ्य तथ्याङ्कले भने खासै महँगी बढेको देखाएको थिएन । केन्द्रीय बैङ्कको पछिल्लो तथ्याङ्कले भने महँगी बढेको नै देखाएको छ । अब महँगीबाट उपभोक्तालाई राहत दिन नीति तथा कार्यक्रम ल्याउनुपर्ने भएको छ । चालु आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षा हुने बेला भइरहँदा उपभोक्ता महँगीको चापमा परेको देखिएको हो । महँगी हुँदा मुद्राको स्फीति घट्छ । चालु आवका पाँचौँ महिना लाग्दा मुद्रास्फीति दर छ प्रतिशतको विन्दुभन्दा माथि लागेपछि महँगीको अनुभव हुन थालेको हो । नेपाल राष्ट्र बैङ्ककको तथ्याङ्क अनुसार मूल्य वृद्धिदर अघिल्लो वर्षको तुलनामा बढेको अलि बढी नै भएको छ । चालु आव २०८१/८२ को मङ्सिरसम्ममा औसत उपभोक्ता मुद्रास्फीति ६.०५ प्रतिशत रहेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो मुद्रास्फीति ४.९५ प्रतिशत मात्र थियो । यतिबेला निक्षेपमा ब्याजदर पाँच/छ प्रतिशतकै हाराहारीमा रहँदा महँगी भने ब्याजदरभन्दा उच्च हुन थालेको हो ।

केन्द्रीय बैङ्कले दुई दिनअघि प्रकाशित गरेको आव २०८१/८२ को पाँच महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार सामान्य मूल्य वृद्धिभन्दा दैनिक खानेपिउने वस्तुमा अझ बढी मूल्य वृद्धि भएको देखिएको छ । खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ९.९९ प्रतिशत रहेको छ । यो भनेको औसत छ प्रतिशतभन्दा अझ बढी मूल्य वृद्धि हो । त्यसमा पनि तरकारी तथा दाल समूहको अझ बढी मूल्य वृद्धि भएको छ । गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९२ प्रतिशत रहनु भनेको निर्माण सामग्रीलगायतको भने उति धेरै मूल्य नबढेको देखाउँछ । गत वर्ष ब्याजदर उच्च थियो भने मूल्य वृद्धि भने पाँच प्रतिशतभन्दा तलै थियो । नेपाली बजार आयातमा आधारित हुँदै गएका कारण पनि भारतमा मूल्य बढेपछि कतिपय वस्तुको मूल्य नेपालमा पनि बढ्ने गर्छ । तरकारी तथा खाद्यान्नमा मूल्य बढ्नुमा गत असोजको बाढी पनि कारण रहेको हुन सक्छ ।

यो पाँच महिनामा कुल वस्तु व्यापार घाटा भने सामान्य मात्र वृद्धि भएको छ । व्यापार घाटा १.५ प्रतिशतले बढेर पाँच खर्ब ८७ अर्ब ८३ करोड पुगेको छ । यहाँ के कुरा उल्लेखनीय छ भने गत आवको पहिलो पाँच महिनामा व्यापार घाटा ३.१ प्रतिशतले कमी आएको थियो । अघिल्लो वर्षको सोही अवधिमा निर्यात आयात अनुपात ९.८ प्रतिशत रहेकोमा अहिले ११.१ प्रतिशत पुगेको देखिएको छ । आवको पहिलो पाँच महिनामा कुल वस्तु निर्यात १६.५ प्रतिशतले बढेर ७३ अर्ब ६६ करोड रुपियाँ पुगेको छ । गत अघिल्लो वर्षको सोही अवधिमा ६.१ प्रतिशतले कमी आएको थियो । सामान्य भए पनि निर्यातमा वृद्धिले भने केही राहत दिएको छ । आयात भने सामान्य तवरले बढेकै छ । कुल वस्तु आयात तीन प्रतिशतले बढेर छ खर्ब ६१ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा ३.४ प्रतिशतले कमी आएको थियो । आयात न्यूनीकरण गर्न आन्तरिक अर्थतन्त्रलाई उत्पादनमुखी बनाउनु जरुरी देखिएको छ ।

नेपाली अर्थतन्त्र केही वर्षदेखि नै विप्रेषणमा आधारित हुँदै छ । विप्रेषण आउने प्रतिशत भने न्यून हुँदै गएको छ । चालु आवको पाँच महिनामा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले बढेर छ खर्ब ४० अर्ब ४३ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो । विप्रेषण आप्रवाहको प्रतिशत घट्नु भनेको नेपाली अर्थतन्त्रका निम्ति सकारात्मक सङ्केत होइन । तथापि चालु खाता अझै पनि बचतमा देखिएको छ । पहिलो पाँच महिनामा चालु खाता एक खर्ब ४० अर्ब ७१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि त्यसै हाराहारी अर्थात् चालु खाता एक खर्ब ४१ अर्ब तीन करोडले बचतमा नै रहेको थियो । यो अवधिमा शोधनान्तर स्थितिसमेत दुई खर्ब २५ अर्ब ३४ करोडले बचतमा रहेको छ । अरू परिसूचक सामान्य नै रहे पनि मूल्य वृद्धिको चापबाट भने उपभोक्तालाई राहत दिन गम्भीर हुने बेला आएको छ ।