गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २८ गते । काठमाडौँको सुकेधारामा यसै सातादेखि पाँचतारे ‘मर्क्योर’ होटेल सञ्चालनमा आउने भएको छ । तीन अर्ब रुपियाँभन्दा बढी लगानीमा बनेको होटेलको व्यवस्थापन अन्तर्राष्ट्रिय कम्पनी एकोर ग्रुप अन्तर्गतको मक्र्योर ब्रान्डले गरेको छ ।
दी मेट्रोपोलिटन होटेल प्रालिको व्यवस्थापनमा एकोर ग्रुप नेपालमा पहिलो पटक भित्रिएको हो । सन् १९६७ मा फ्रान्सबाट सुरु मक्र्योर काठमाडौँमा १११ औँ शाखाका रूपमा भित्रिएको हो ।
सुकेधारा हाइटमा रहेको होटेल १२ तले (छतसहित) छ । पाँच रोपनी जमिनमा फैलिएको मक्र्योरमा पाँच थरीका रेस्टुरेन्ट र बार रहेका छन् । मक्र्योरमा पाँच किसिमका गरी १०४ वटा कोठा रहेका छन् । होटेलमा एक रातको शुल्क १५ हजार रुपियाँदेखि सुरु हुने व्यवस्थापन समूहले जनाएको छ ।
होटेलमा शारीरिक रूपमा अशक्तहरूका लागि शौचालयदेखि रेस्टुरेन्टसम्म छुट्टै व्यवस्था रहेको छ । होटेलमा चार सय जनाभन्दा बढी मान्छे अटाउने बैङ्क्वेट हल, दुई वटा बैठक कोठा, जिम, स्टिम साउना, वेलनेस सेन्टर रहेको छ ।