गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २८ गते । अब बैङ्कमा खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने भएको छ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनका अनुसार बैङ्कले माघ १ देखि राष्ट्रिय परिचयपत्रका आधारमा बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्नुपर्ने भएको छ । यसअघि बैङ्क खाता खोल्न नागरिकता अनिवार्य थियो ।
बैङ्क तथा वित्तीय संस्थाले २०८१ माघ १ देखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकिन गरी खाता खोल्ने व्यवस्था मिलाउनुपर्ने राष्ट्र बैङ्कको निर्देशनमा उल्लेख छ ।
राष्ट्रिय परिचयपत्रका आधारमा बैङ्क खाता खोल्नुको उद्देश्य ग्राहकको सही पहिचान सुनिश्चित गर्नु रहेको राष्ट्र बैङ्कले जनाएको छ ।नयाँ निर्देशनले सरकारी भुक्तानी प्राप्त गर्ने खातामा पनि राष्ट्रिय परिचयपत्रको आधारमा खाता खोल्नुपर्ने कुरा सुनिश्चित गरेको छ । साथै खाताबाट रकम झिक्नुअघि ग्राहकको पहिचान र सम्पुष्टि गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।