गोरखापत्र समाचारदाता
ललितपुर, पुस २७ गते । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनले नेपालमा पर्न सक्ने समस्यालाई दृष्टिगत गरी पेट्रोलियम पदार्थको प्रयोग न्यूनीकरण गर्नुपर्ने बताउनुभएको छ ।
कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले शुक्रबार ‘वन, वातावरण तथा जलवायु परिवर्तन सरोकारसम्बन्धी कार्यपत्र प्रस्तुतीकरण’ कार्यक्रममा उहाँले विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिनुभएको हो ।
उहाँले जलवायु परिवर्तनले हिमताल फुट्ने र हिमाल पग्लिने समस्या देखिएको बताउँदै नेपालले सबैभन्दा बढी ध्यान जलवायु परिवर्तनमा दिनुपर्ने भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, “नेपालले चाहेर मात्रै हुँदैन तर धेरै काम गर्न सकिन्छ । यसका लागि डिजेल र पेट्रोल जस्ता इन्धनको प्रयोग न्यूनीकरण गर्नु पर्छ । विद्युतीय सवारीसाधन प्रयोग गर्नु पर्छ ।”
सभापति देउवाले काठमाडौँमा मात्रै पनि पेट्रोलियम इन्धन कम गर्न सकिएमा त्यसको वातावरणीय प्रभाव सकारात्मक हुने बताउनुभयो । उहाँले विश्वका विभिन्न देशमा विद्युतीय सवारीसाधन प्रयोग वृद्धि गरिएको जानकारी दिँदै वनको संरक्षण गर्नुपर्ने बताउनुभयो । साथै उहाँले विश्वव्यापी तापक्रम वृद्धि चिन्ताजनक रहेको बताउँदै देशभरि नै जलवायु परिवर्तनका सन्दर्भमा सचेतना जगाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले कांग्रेसले वातावरण संरक्षणका विषय गम्भीर र संवेदनशील रूपमा पार्टीका राजनीतिक दस्ताबेज र घोषणापत्रमा पनि समावेश गरेको प्रस्ट पार्नुभयो । उहाँले जलवायु परिवर्तनले कृषि, पर्यटन, पूर्वाधार विकासलगायत धेरै क्षेत्र यसको असरबाट प्रभावित हुन थालेको बताउनुभयो ।
उहाँले नेपालले राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा पनि जलवायु परिवर्तनका सन्दर्भमा सशक्त रूपमा आवाज उठाएको बताउनुभयो । उहाँले भन्नुभयो, “हिमाल जोगाउन र जलवायु परिवर्तन अनुकूलन र प्रभाव न्यूनीकरणका क्षेत्रमा प्रभावकारी कदम चाल्नु पर्छ ।”
कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले नेपालमा पेट्रोलियम पदार्थको प्रयोग तत्काल न्यूनीकरण गरेर जलवायु परिवर्तनको प्रभाव रोक्न सकिने बताउनुभयो । उहाँले विश्वको वातावरण परिवर्तनको समस्यालाई नियन्त्रण गर्न नसकिए पनि नेपालले आफ्नो देशमा जलवायु परिवर्तनबाट भइरहेको प्रभाव नियन्त्रण गर्न सक्ने दाबी गर्नुभयो ।
कांग्रेस नेता एवं वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा संवाद आयोजनाको तयारी भइरहेको बताउनुभयो । उहाँले समग्र आर्थिक वृद्धिको कार्य वातावरणीय संरक्षणलाई सन्तुलनमा अगाडि बढाउँदै जलवायु परिवर्तनको विषय सम्बोधन गर्ने बताउनुभयो ।
कांग्रेस केन्द्रीय सदस्य एवं वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागका प्रमुख कल्याणकुमार गुरुङले जलवायु परिवर्तनको असर देखिन थालेकाले यो विषयलाई गम्भीर रूपमा उठाउनुपर्ने बताउनुभयो ।
कार्यपत्र प्रस्तुत
कार्यक्रममा जलवायु परिवर्तनका आर्थिक, सामाजिक असर, विपत् र नेपालको सन्दर्भ शीर्षकमा दिव्यमणि राजभण्डारीले कार्यपत्र प्रस्तुत गर्नुभयो । त्यसै गरी विश्लेषक अरुणकुमार सुवेदीले हरित जलवायु कोषमा निजी क्षेत्रको पहुँच र नेपालको मुख्य हित शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।
विज्ञ मञ्जित ढकालले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय परिवेश, कार्बन व्यापार तथा नेपालको सन्दर्भमा जलवायुमैत्री अभ्यासहरू, विज्ञ सङ्गम शेर्पाले प्राङ्गारिक कृषि पर्यटनमा विद्यमान अवसर तथा जलवायु परिवर्तनको प्रभाव, अभिषेक यादवले नेपालमा जलवायु कार्य र वित्तको विस्तार गर्दै न्यायपूर्ण सङ्क्रमणको सुनिश्चितता र हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असरहरू र पर्यटनमा यसको प्रभाव शीर्षकमा आङछिरिङ शेर्पाले कार्यपत्र प्रस्तुत गर्नुभयो ।
त्यसै गरी वन तथा चुरे संरक्षण शीर्षकमा डा. नागेन्द्रप्रसाद यादव कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यक्रममा नेपालमा पूर्वाधार विकास र वातावरणीय अध्ययनको समीक्षा, वन्यजन्तुमैत्री रेखीय पूर्वाधार निर्माण : आवश्यकता, चुनौती र अवसर, पेरिस सम्झौता, प्रदूषण नियन्त्रण (जल, वायु, फोहोर व्यवस्थापन) तथा वातावरण अध्ययनमा प्राज्ञिक संस्थाको सुदृढीकरण र वातावरणसम्बन्धी नेपालका मौजुदा कानुनहरू तथा अन्तर्राष्ट्रिय सन्धि र अभिसन्धि शीर्षकमा पनि कार्यपत्र प्रस्तुत गरिएको छ । कार्यपत्रमा नेपालमा जलवायु परिवर्तनको असर न्यूनीकरणको अवधारणा र तत्काल गर्नुपर्ने काम उल्लेख गरिएको छ ।