गोरखापत्र अनलाइन
काठमाडौं, पुस २६ गते । काठमाडौंको टुँडिखेलमा थारु राष्ट्रिय माघी महोत्सव– २०८१ को तयारी गरिएको छ । थारु राष्ट्रिय माघी महोत्सव–२०८१ मूल आयोजक समितिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पुस २९ र माघ १ गते दुई दिन माघी महोत्सव आयोजना हुन लागेको जानकारी दिएको हो ।
मूल आयोजक समितिका संयोजक प्रेमीलाल चौधरीका अनुसार पुस २९ गते बिहान ११ बजेदेखि अपरान्ह ५ बजेसम्म रक्तदान र निःशुल्क दन्त शिविरको व्यवस्थापन गर्ने भनिएको छ । माघ १ गते बिहान १० बजे थारु संस्कृति, भेषभूषा, बाजागाजासहित सङ्घ, संस्थाका प्रतिनिधिहरु वसन्तपुरमा जम्मा भई झाँकी प्रदर्शनले रत्नपार्क परिक्रमा गर्ने कार्यतालिका छ ।
उहाँले भन्नुभयो, “यो थारु समुदायको राष्ट्रिय पर्व हो । यो शान्तिको प्रतीक हो र शान्ति प्रवाह गर्छ । वर्षभरि गरेका कामहरुको लेखाजोखा हुन्छ । नयाँ घरमूली लगायत बरघरहरुको चयन हुन्छ ।” उहाँका अनुसार थारु समुदायले देशैभरि माघी पर्व मनाउँदै आएको र थारु कल्याणकारिणी सभाको अगुवाइमा २०५९ सालयता साझारुपमा काठमाडौंमा मनाउन सुरु गरिएको हो ।
उहाँले यो वर्ष थारु कल्याणकारिणी सभा केन्द्रीय समितिको संयोजनमा २० वटा थारु सङ्घ, संस्थाहरुको संयुक्त आयोजनामा प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा माघी महोत्सव आयोजना हुन लागेको बताउनुभयो । थारु समुदायको पहिचान र अधिकार सुरक्षित एवम् सुनिश्चित गर्ने विषयमा समेत माघी पर्वले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “२०७२ मा जुन संविधान जारीभयो । अहिलेसम्म संविधानअनुसार कानुन बनिसकेको छैन । ऐन नबनेकाले ती अधिकार उपभोग गर्न पाएका छैनौं । अहिले पनि निरन्तर सरकारलाई दबाब दिइरहेका छौं । तुरुन्त यी विधेयकहरु पारित गराएर थारुको पहिचान, अधिकार, सुरक्षित र सुनिश्चित गर्नुपर्छ भनेर हामीले आवाज उठारहेका छौं । थारुहरुलाई एकताबद्ध गरेर आफ्नो हक, अधिकारको लागि पनि यो पर्वले ठूलो महत्व राखेको छ ।”
उहाँका अनुसार माघी महोत्सवको व्यवस्थापनको खर्च २१ लाख रुपियाँ छुट्याइएको छ । सम्बद्ध सङ्घ, संस्था, व्यक्तिगत सहयोग एवम् विभिन्न प्रयोजनको सहयोगबाट सो रकम सङ्कलन गरिएको उहाँको भनाइ छ ।
महोत्सवमा विविध थारु सांस्कृतिक प्रस्तुति, थारु खानपिन प्रदर्शनी एवम् बिक्री, थारु सीप हस्तकला, पुस्तक प्रदर्शनी, रक्तदान, निःशुल्क दन्त शिविर लगायतका एकसय १० वटा स्टल रहनेछ । महोत्सवमा सहभागी समूह र दर्शकले निःशुल्क रुपमा भाग लिन पाउनेछन् ।
उहाँले महोत्सव प्रचार–प्रसारका लागि पुस २७ गते शनिबार बिहान ७ बजेदेखि कोटेश्वरबाट सुरु भई भृकुटीमण्डपमा समापन हुने जानकारी दिनुभयो । माघी महोत्सवको अवसरमा उपत्यकामा बासोबास गर्ने करिब दुई लाख थारुहरु टुँडीखेलमा जम्मा भएर माघी पर्वमा रमाइलो गर्नेगरेका छन् ।