• २६ पुस २०८१, शुक्रबार

सहकारीका प्रबन्धक कुट्ने वडाध्यक्षसहित पाँच प्रक्राउ

blog

कुटपिट गर्ने वडाध्यक्ष प्रकाश श्रेष्ठ । फाइल तस्बिर

अमरराज नहर्की

तनहुँ, पुस २६ गते । सहकारीको प्रबन्धकलाई कुटपिट गरेको आरोपमा तनहुँमा प्रहरीले एकजना जनप्रतिनिधि सहित पाँच जनालाई पक्राउ गरेको छ । भिमाद नगरपालिका–७ का वडाध्यक्ष प्रकाश श्रेष्ठसहित पाँचजना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक अशोककुमार थापाले बताउनुभयो ।

 तनहुँको भीमाद बजार स्थित भीमाद बचत तथा ऋण सहकारीका प्रबन्धक रामबाबु गैह्रेलाई कुटपीट गरेको उजुरी परेपछि नियन्त्रणमा लिइएको थापाले भन्नुभयो । प्रनाउ थापाले भन्नुभयो, ‘‘वडाध्यक्षलाई अभद्र व्यहारमा मुद्द्दा चलाएका छौं ।’’ तनहुँ जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान थालिएको उहाँले जानकारी दिनुभयो । वडाध्यक्ष श्रेष्ठकी पत्नी लक्ष्मीकुमारी श्रेष्ठको नाममा २०७६ सालमा सहकारीबाट ऋण लिएर नतिरेपछि धितो राखेको जग्गा लिलाम गरेको भन्दै वडाध्यक्ष श्रेष्ठले प्रबन्धक गैह्रेलाई कुटपिट गरेपछि प्रहरीले पाँचजनालाई पक्राउ गरी अनुसन्धान थालेको हो ।  वडाध्यक्ष श्रेष्ठसहित इश्वरकुमार श्रेष्ठ, नितेश श्रेष्ठ, नेपोलने श्रेष्ठ र विकल श्रेष्ठलाई पक्राउ गरिएको उहाँले बताउनुभयो  । विसं २०७६ मा रु २८ लाख ऋण लिएपछि सावा, ब्याज एकपटक पनि नतिरेको, पटकपटक चिठी तथा फोनमार्फत जानकारी गराउँदा बेवास्ता गरेपछि सहकारीले सहकारी नियम र प्रक्रियाअनुसार जग्गा लिलामी गरेको सहकारीका अध्यक्ष काजीमान श्रेष्ठले बताउनुभयो ।

 सहकारीका अध्यक्ष श्रेष्ठका अनुसार ‘घरमा पत्र पठाउँदा नबुझ्ने र उल्टै कर्मचारीलाई धम्काएर पठाउने गरेपछि बाध्य भएर सञ्चालक समितिले कानुनी प्रक्रिया अगाडि बढाएर जग्गा लिलामी गरेको थियो ।  सञ्चालक समितिले गरेको निर्णय प्रबन्धकले कार्यान्वयन गर्ने कानुनी प्रक्रिया रहकाले वडाध्यक्ष श्रेष्ठले प्रबन्धकलाई हातपात गरेका थिए । सोमबार बिहान ९ बजे खाना खाइरहेको ठाउँमा आएर कुटपिट भएको थियो । कुटपिट भएपछि प्रहरी समक्ष उजुरी परेको थियो ।