गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २५ गते । नेपाल सरकारले इजरायल आक्रमणका क्रममा हमास समूहले बन्दी बनाएका नेपाली नागरिक विपिन जोशीलाई रिहा गर्न फेरि अपिल गरेको छ । परराष्ट्रमन्त्री डा. आरजु राणाले सरकारका तर्फबाट हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि अनुरोध गर्नुभएको हो । नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी जोशीको रिहाइका लागि थप पहल गरिदिन उहाँले अनुरोध गर्नुभएको हो ।
परराष्ट्रमन्त्री डा. राणाले बुधबार परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटका क्रममा राजदूत बाससँग नेपाली विद्यार्थी विपिनको अवस्थाबारे जानकारी लिँदै हमासको नियन्त्रणबाट मुक्त गराउन थप पहल गरिदिन इजरायल सरकारसँग अनुरोध गर्नुभयो । हमास समूहले अपहरण गरी लगेकामध्ये ३४ जनालाई रिहा गर्न लागेको भन्ने सूचना आइरहँदा यस विषयमा मन्त्री राणाले राजदूत बाससँग जानकारी लिनुभयो ।
राजदूत बासले जवाफका क्रममा हमासको नियन्त्रणमा रहेका वृद्धवृद्धा, महिला तथा बालबालिकासमेत नाजुक स्वास्थ्य अवस्थामा रहेका नागरिकको रिहाइका लागि इजरायल सरकारले केही महिनाअघि हमासलाई सूची पठाएको जानकारी दिनुभयो । त्यसको पहिलो चरणमा ३४ जनालार्ई नियन्त्रणमुक्त गर्ने तयारी भएको भन्ने सूचना आएको जानकारी पनि राजदूत बासले मन्त्री राणालाई दिनुभयो ।
सन् २०२३ को अक्टोबरमा इजरायलमा प्यालेस्टाइनी हमास समूहले आक्रमण गर्दा १० नेपालीसहित एक हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । लगत्तै उनीहरूले २५१ जनालाई बन्दी बनाएका थिए । तिनमा नेपालका विपिन जोशी पनि रहेका जनाइएको छ ।