मकवानपुर समाचारदाता
हेटौँडा, पुस २३ गते । हेटौँडा उपमहानगरपालिका चालु आर्थिक वर्ष २०८१/८२ का लागि नगर सभाबाट बनाइएका योजनाको कार्यान्वयनमा कमजोर देखिएको छ ।उपमहानगरपालिकाको चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा उल्लेख भएका पूर्वाधार विकास कार्यव्रmम अन्तर्गतका योजनाको गत मङ्सिर मसान्तसम्म न्यून सङ्ख्यामा सम्झौता भएको हो ।
नगरस्तरीय योजना ४३१ वटा र वडास्तरीय ७९० वटा गरी एक हजार २२१ वटा योजना चालु आवका लागि स्वीकृत गरिएकोमा चालु आवको पाँच महिना सकिँदा १३५ वटा योजनाको मात्र सम्झौता सम्पन्न भएको छ । पूर्वाधार विकासतर्फ चालु आवका लागि ४० करोड ७१ लाख २८ हजार रुपियाँ विनियोजन भएकोमा मङ्सिर मसान्तसम्ममा १०.७८ प्रतिशत अर्थात् चार करोड ३८ लाख ८८ हजार चार सय रुपियाँ मात्र खर्च भएको उपमहानगरपालिकाको तथ्याङ्क रहेको छ ।
उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेका अनुसार वडा कार्यालयको प्रशासनिक भवन क्रमशः निर्माण गर्दै जाने नीति अनुरूप चालु आर्थिक वर्षमा सम्पन्न गर्ने गरी ५ नं. वडा र १६ नं. वडा कार्यालयको भवन निर्माण कार्य भइरहेको छ ।
यसै गरी अधुरो स्वास्थ्य संस्थाको भवन निर्माणलाई व्रmमशः सम्पन्न गर्दै जाने नीति अनुरूप वडा नं. ४ मोहन वज्राचार्य सहरी स्वास्थ्य केन्द्र र वडा नं. ५ को सहरी स्वास्थ्य केन्द्रको आफ्नै भवनबाट सेवा प्रवाह भइरहेको छ । वडा नं. १ को जरुवाटोलमा रहेको नकौली सहरी स्वास्थ्य केन्द्रलाई छिटो सञ्चालन गर्ने गरी बजेट व्यवस्था र जिल्ला समन्वय समितिको लागत साझेदारीमा वडा नं. ९ को लामसुरे सहरी स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि सम्झौता अन्तिम चरणमा रहेको उपमहानगरले जनाएको छ । उपमहानगरपालिकाको आफ्नै स्रोतबाट वडा नं. १० को ज्ञानदा माध्यमिक विद्यालयको भवन निर्माण सुरु गरिएको छ ।
प्रवक्ता न्यौपानेले उपमहानगरपालिकाको आफ्नै स्रोतबाट निर्माण गर्ने गरी बहुवर्षीय कार्यक्रम अन्तर्गत वडा नं. १ को पिपलबोटदेखि स्वर्गलोक सडक र वडा नं. ४ को वडा प्रहरी कार्यालयदेखि क्विक ट्वान्टीसम्म सडक स्तरीकरणको बोलपत्र आह्वान गरिएको बताउनुभयो । उपमहानगरपालिकाले मालपोत कार्यालय, नापी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पूर्वाधार सुधारका लागि पुँजीगत अनुदान उपलब्ध गराएको छ ।
तलब र भत्ताले थपियो दायित्व
उपमहानगरपालिका कर्मचारी र जनप्रतिनिधिको तलब र बैठक भत्ताले चालु आवमा थप आर्थिक दायित्व थपिने भएको छ । कर्मचारी तथा जनप्रतिनिधिको तलब भत्ता र पदाधिकारी तथा कर्मचारी बैठक भत्ताका लागि चालु आवमा साढे चार करोड रुपियाँभन्दा बढी दायित्व थपिने भएको हो । कर्मचारी तथा जनप्रतिनिधिको तलब भत्तामा चार करोड २० लाख १० हजार ३२८ रुपियाँ र पदाधिकारी तथा कर्मचारी बैठक भत्तामा ४२ लाख रुपियाँ गरी चार करोड ६२ लाख १० हजार ३२८ रुपियाँ चालु आवमा दायित्व थपिने अनुमान उपमहानगरपालिकाको रहेको छ । यस्तै इन्धन र कर्मचारी कल्याणकोषमा एकएक करोड, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा दुई करोड ३० लाख, सवारीसाधन मर्मतमा एक करोड ५० लाखलगायत विभिन्न शीर्षकमा गरी चालु आवमा १९ करोड ९७ लाख १० हजार ३२८ रुपियाँ दायित्व थपिने अनुमान उपमहानगरपालिकाको छ ।
चालु आवका लागि गत असारमा दुई अर्ब २५ करोड ९८ लाख १८ हजार १७० रुपियाँ बराबरको बजेट ल्याइएको थियो । बहुवर्षीय योजनाको भुक्तानी, अनिवार्य दायित्व र अतिआवश्यक खर्चका लागि बजेट अभाव भएकाले थप दायित्व सिर्जनाभएको प्रवक्ता न्यौपानेको भनाइ छ । उपमहानगरपालिकाले नपुग बजेट रकम नदीजन्य पदार्थको बिक्री वितरणबाट पूर्ति गर्दै लैजाने जनाएको छ ।