• २४ पुस २०८१, बुधबार

सहकारीहरूले ठिक अवस्थामा छौँ भन्ने सन्देश दिन जरुरीः मन्त्री अधिकारी

blog

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ।

काठमाडौं, पुस २२ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बजारमा फिँजाइएका भ्रमहरू चिर्न सहकारीहरूले आफूहरू ठिक अवस्थामा रहेको सन्देश दिन जरुरी रहेको बताउनुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले सहकारीबारे फैलाइएका हल्ला मिथ्या मात्र हो भन्ने आधारमा अघि बढ्न जरुरी रहेको बताउनुभयो ।

सबै सहकारीहरू एउटै तप्काका हुन् भन्ने भ्रम चिर्न सहकारीहरूले जनताको समस्या समाधान हुनेगरी कृषिमा आधारित र जनताको जीवनस्तर उकास्ने काम गर्नुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो ।

मन्त्री अधिकारीले छिमेकी मुलुकहरूले कृषिमा गरेको कामको अनुशरण गरेर अघि बढ्न जरुरी रहेको बताउनुभयो ।

‘‘सहकारीहरू सबै एउटै प्रकृतिका हुन्, एउटै खाले हुन्, सहकारी ठिक छैनन्, सहकारी अब चाहिँदैनन् भन्ने एउटा तप्का छ । जनताको समस्या समाधान गर्नका लागि कृषिमा आधारित र जनताको जीवनस्तर उकास्ने भनेको सहकारी हो ।,’’ मन्त्री अधिकारीले भन्नुभयो, ‘‘किनेभने हामीले सहकारीमा बचत जम्मा गरेका हुन्छौं, त्यही बचत परिचालन गरेका हुन्छौं । त्यही बचतबाट आफ्नो आर्थिक स्थितिलाई उकास्न मद्दत गर्छ । त्यसैले सहकारी चाहिन्छ । त्यसकारण सहकारीमा फिँजाइएको यो हल्ला मिथ्या हो भन्ने आधारमा जान जरुरी छ ।’’

उहाँले सहकारी क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्नका लागि सरकारको मात्र मुख ताक्ने नभई सबैले आ—आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह समेत गर्नुभयो ।