• २४ पुस २०८१, बुधबार

यलम्बर संवतका अवसरमा साताव्यापी कार्यक्रम

blog

निशा राई

धरान, पुस २२ गते । किराँतीहरुको नयाँ वर्ष यलम्बर संवत् ५०८५ को अवसरमा किराँत राई यायोख्खा सुनसरीले साता व्यापी कार्यक्रमको आयोजना गरिने भएको छ ।

किराँत यायोक्खा सुनसरीको भवनमा पत्रकार सम्मेलन गर्दै किराँत राई यायोख्खा सुनसरीले यलम्बर संवतलाई राष्ट्रिय संवतको रुपमा मान्यता प्रदान गर्न राज्यलाई दबाब दिँदै साताव्यापी कार्यक्रम गर्ने आयोजकले जनाएको छ । 

नेपालको इतिहास विभिन्न कालखण्डमा विभाजित छन् । जसमध्ये प्राचीनकालमा किराँतीहरुको राज्य करिब ३२ पुस्ताले १९६३ वर्ष ८ महिना राज्य चलाएकोमा किराँतीहरुको प्रथम राजा हाङ्ग यलम्बर हुन् र उहाँकै नाममा चलाइएको संवत् यलम्बर संवत् रहेको किराँत राई यायोख्खा सुनसरीका अध्यक्ष राजेन्द्र राइले बताउनुभयो । 

यसलाई राई, याक्खाले यलदुङरयलदोङ, लिम्बुहरुले यलेतडवे, सुनुवारहरुले यलेथोचे आदि विभिन्न नामले सम्बोधन गरेको पाइन्छ । नेपालमा साल संवत् चलाउने विभिन्न परम्परा र प्रथा छन् । जसमध्ये हाङ यलम्बरले किरात शासन स्थापना गरेको ऐतिहासिक घटनालाई आधार मानी यलम्बर संवत् चलनमा आएको हो जुन संवत् ५०८५ लागेको अध्यक्ष राइले बताउनुभयो ।

सभ्यताले हजारौं वर्ष व्यतित गर्ने हुनाले यो सभ्यताको गर्भभित्र स्वाभाविक रुपमा भाषा, धर्म, संस्कार, संस्कृति, इतिहास, मूल्य मान्यता, रीतिरिवाज आदिको विकास भएकाे छ । किराँत भूगोल हो, यस अर्थमा तत्कालीन प्रशासनिक केन्द्रको विभाजन वल्लो किराँत, माझ किराँत र पल्लो किराात भनी वर्तमानमा पनि परिचित छन्, त्यसो भएको हुनाले त्यही समयदेखि यलेदोङ यलम्वर संवतको विकास र थालनी भएको मानिने उहाँले बताउनुभयो । 

नेपालको प्राचीन संवत् यलम्बर संवत् ५०८५ लाई अब सरकारले लागू गर्नुपर्ने अध्यक्ष राईले बताउनुभयो । नेपालीको पहिचान, माटोसँग जोडिएको यो संवतलाई राष्ट्रिय संवतको रुपमा मान्यता दिएमात्र अहिलेको राष्ट्रिय गीतसँग मेल खाने उहाँले बताउनुभयो । 

साताव्यापी कार्यक्रम पुस २५ देखि माघ २ गतेसम्म आयोजना हुने कार्यक्रममा छेलो हान्ने प्रतियोगिता, रस्सी तान्ने प्रतियोगिता, बुद्धिचाल प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता, महिला फुटबल प्रतियोगितासँगै हाङ एलेम्बरको प्रतिमामा दीप प्रज्वलन, ८५ वटा बेलुनसहित सुम्निमा पारुहाङ अङ्कित लोगो र यायोख्खाको गौरवशाली झण्डा उडाउने कार्यक्रममा रहेको आयोजकले जनाएको छ । 

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासङ्घ सुनसरीका निवर्तमान अध्यक्ष जनकऋषि राई, नवनिर्वाचित अध्यक्ष सन्तोष काफ्ले, सदस्य रोहित कुलुङ राई र प्रदेश पार्षद विकास चाम्लिङलाई सम्मान गरिएको थियो ।