• २३ पुस २०८१, मङ्गलबार

पिएसबीको लोगो निर्माण गर्न खुला प्रतिस्पर्धा

blog

काल्पनिक चित्र

काठमाडौँ, पुस २१ गते । सार्वजनिक सेवा प्रसारण (पीएसबी) नेपालको लोगो खुला प्रतिस्पर्धाबाट छनाेट  गरिने भएको छ । 

नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकृत गरी सार्वजनिक सेवा प्रसारणमा रुपान्तरण गरेपछि पीएसबी नेपालले नयाँ लोगो खुला प्रतिस्पर्धाको आधारमा छान्ने भएको हो । 

पीएसबी नेपाल सञ्चालक समितिको यही पुस १४ गतेको निर्णयअनुसार संस्थाको  लोगो निर्माणका लागि इच्छुक व्यक्ति, फर्म, कम्पनी, सङ्घ वा संस्थाले आवेदन दिन सक्ने सूचना प्रकाशित गरिएको छ ।

लोगो निर्माणका लागि आवेदन दिन फर्म, कम्पनी वा संस्थाको हकमा दर्ता प्रमाणपत्र र नियमानुसार कर चुक्ताको प्रतिलिपि तथा व्यक्तिको हकमा नेपाली नागरिकताको प्रमाणपत्र निवेदनका साथ अनिवार्य बुझाउनुपर्ने छ ।

गोरखापत्रमा यही पुस १७ गते प्रकाशित सूचना अनुसार इच्छुक व्यक्ति वा संस्थाले यही पौष २३ गतेभित्र निवेदन दिनुपर्ने छ।

निवेदन सार्वजनिक सेवा प्रसारण नेपालको सचिवालय रेडियो नेपाल र नेपाल टेलिभिजनको इमेल ठेगाना rne@radionepal.gov.np मा पठाउन भनिएको छ । 

प्रतिस्पर्धामा सहभागिता जनाएका आवेदकहरुको सूची तयार गरी संस्थाको अवधारणा अनुसार लोगो निर्माण कार्य अगाडि बढाइने सार्वजनिक सेवा प्रसारण नेपालको सचिवालयले जनाएको छ । 

नागरिकका लागि सेवा प्रसारण भन्ने मान्यता अनुसार नै संस्थाको लोगो निर्माणका लागि खुला प्रतिस्पर्धाबाट छनाेट गर्न लागिएको सचिवालयले जनाएको छ ।

सार्वजनिक सेवा प्रसारणप्रति आम नेपालीको भावनालाई जोड्दै नयाँ बनेको पीएसबीमा सबै नागरिकले अपनत्व लिन सक्ने गरी यो सूचना प्रकाशित गरिएको पीएसबी नेपालका अध्यक्ष डा. महेन्द्र विष्टले जानकारी दिनुभयो । 

अध्यक्ष डा विष्टका अनुसार लोगो निर्माणका लागि प्राप्त आवेदकहरूको सूची तयार गरी आवेदकहरूबिच अवधारणागत छलफलपछि प्रतिस्पर्धाका आधारमा लोगो निर्माण हुने र जुरीले छनोट गरेको सर्वोत्कृष्ट लोगोलाई आकर्षक पुरस्कार प्रदान गरिने योजना रहेको छ ।

हाल नेपाल टेलिभिजन र रेडियो नेपालका समाचार, कार्यक्रम तथा अन्य प्राविधिक एवं प्रशासनिक संरचनाहरूको रूपान्तरणका बारेमा आन्तरिक गृहकार्यहरू भइरहेका छन ।

पिएसबीमा दुबै निकायहरू रूपान्तरण भइसकेपछि प्रसारण हुने विषयवस्तुका साथै कर्मचारीहरूलाई अभिमुखीकरण एवम्  नियमावली, विनियमावली र अरू आवश्यक कानुनहरू निर्माणको काम पनि अघि बढिरहेको छ ।।